बन्धक बनाएर बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

साउन २५ गते साँझ पीडित बालिकालाई रातभर हातगोडा बाँधेर आरोपित चमारले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गङ्गा पिपरामा साउन २७ गते उजुरी दिएको थियो ।

साउन २५ गते साँझ आरोपितले बालिकाको  हात, गोडा र मुख सलले बाँधेर रातभर खेतमै राखेर बलात्कार गरेको पीडितको आरोप छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपित चमारलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

राति अवेरसम्म पीडित बालिका घर नआएपछि अभिभावकले खोजी गर्दा २६ गते दिउँसो झांझ नदी नजिकको धान खेतमा हातगोडा बाँधिएको र अचेत अवस्थामा फेला पारेको अभिभावकले बताएका छन् ।

बालिकाको उपचार र स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गौरमा भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।


विपिन गौतम