बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगजनी तथा तोडफोड

  ०७३ कात्तिक २८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते आहृवान गरेको बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरूले सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् । माओवादीले कालोबजारी, महङ्गी, मूल्यबृद्धि नियन्त्रणलगायतका माग गर्दै बन्दको आहृवान गरेको हो । काठमाडौँ उपत्यकामा बन्दको आंशिक प्रभाव रह्यो भने उपत्यका बाहिरका केही जिल्लाहरूमा आन्दोलनकारीहरूले सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् । बन्दका कारण शिक्षण संस्थाहरू बन्द रहे ।

सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार नेपाल बन्दको अवज्ञा गरेको आरोप लगाउँदै माओवादीका कार्यकर्ताले कात्तिक २८ गते एउटा स्कर्पियो जीपमा आगो लगाएका छन् । काठमाडौँबाट सिराहा जाँदै गरेको स्कार्पियो जीपमा भद्रकाली गाविस-६ चियाबारी भन्दा ४ सय मिटर नजिकै विपी राजमार्गमा बिहानै आगो लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

करिव ७/८ जनाको समूहले जङ्गलमा कुरेर गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ । सगरमाथा अञ्चलको स १ प ११४४ नम्बरको निजी नम्बर प्लेट भएको सो स्कर्पियो सिरहा गोलवजारका रामपुजन महत्तोको रहेको जिल्ला प्रहरी कार्यालयका एसपी उमाशङ्कर पञ्जियारले बताए ।

चालकमात्र रहेको गाडीमा आगो लगाउनु अघि उनीहरूले चालकको सामसुङ मोबाइल सेट र २० हजार रूपियाँ नगदसमेत लुटेर लगेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हरिहरपुरगढीका तिर्थबहादुर तामाङ र मरिणखोलाका शशि राईलाई गिरफ्तार गरेर अनुसन्धान सुरू गरिएको एसपी पञ्जियारले बताए ।

काठमाडौँ जिल्ला प्रतिनिधि विवेक ढुङ्गानाका अनुसार प्रहरीले नेपाल बन्द गराउँदै हिडेका ७७ जना बन्दकर्तालाई काठमाडौँको विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । बिहानैबाट नेपाल बन्द गराउन खटिएका माओवादी केन्द्रीय स्तरका नेतासहितलाई प्रहरीले गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।

धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ७६०२ नम्बरको बसमा थाक्रे गाविस-३ मा बन्दकर्ताले ढुङगा प्रहार गरी तोडफोड गरेका छन् । ढुङ्गा प्रहारबाट एक जना यात्रु समान्य घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । राजमार्गमा टायर बाली यातायात अबरूद्ध गरेको आरोपमा माओवादी कार्यकर्ता कृष्ण खतिवडा र प्रमोद गिरीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी शरद खत्रीले बताएका छन् ।

दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार आज बिहान भिमेश्वर नपा-१ स्थित सुवेक्षा होटलको प्राङ्गणमा एउटा कार, जिल्ला विकास समितिको एउटा मोटरसाइकल र एउटा निजी मोटर साइकलमा आज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा आफूहरूको संलग्नता नभएको विप्लव नेतृत्वको माओवादीका जिल्ला नेता अर्जुन योगीले बताए ।

चितवन, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्ला प्रतिनिधिका अनुसार जिल्लाहरूमा बन्दको प्रभाव सामान्य रहेको इन्सेक मध्यमाञ्चल कार्यालयले जनाएको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार मोटरसाइकल तोडफोड गरेको आरोपमा प्रहरीले दुईजना बन्दकर्तालाई घोराहीबाट गिरफ्तार गरेको छ । बन्द अवज्ञा गरेको भन्दै घोराहीको गुलरियाचोकमा रा २ प ५९८८ नम्बरको मोटरसाइकल तोडफोड गर्दै गर्दा प्रहरीले अखिल क्रान्तिकारीका जिल्ला सदस्य २२ वर्षीय विनोद ठकुरी र १७ वर्षीय एक बालकलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माले बताए ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार बन्दका कारण निजी विद्यालयका ७ हजार विद्यार्थी र सामुदायिक विद्यालयका करिब २३ हजार विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालय म्याग्दीका अधिकृत दलबहादुर थापाका अनुसार म्याग्दी जिल्लामा निजी तथा सामुदायिक विद्यालयमा गरी झण्डै ३० हजार विद्यार्थीहरू अध्ययनरत छन् ।

कास्कीको पोखरामा बन्द सफल पार्न भन्दै बिहानै प्रहरीको गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा अमृत सापकोटालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका इन्सपेक्टर गणेश बमले जानकारी दिए ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार बन्दको प्रभाव पश्चिमाञ्चल क्षेत्रमा सामान्य रहेको छ । क्षेत्रीय कार्यालयका अनुसार गोरखा, नवलपरासी, बागलुङ, लमजुङ, गुल्मी, तनहुँ, स्याङ्जा, पाल्पा, अर्घाखाँची, पर्वतलगायतका जिल्लामा जनजीवन प्रभावित भए पनि अप्रीय घटना नभएको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

इन्सेक धनकुटाका जिल्ला प्रतिनिधि सन्तोष रुचालका अनुसार धरानबाट धनकुटा सडकमा अवरोध गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ता मोहन घले र ध्रुव थापालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विभुतिराज पाण्डेले बताए ।

महोत्तरी जिल्ला प्रतनिधि अजय कुमार साहका अनुसार महोत्तरी बजार बन्द गराएको  आरोपमा नेकपा माओवादीका कार्यकर्ताहरू सन्देश पौडेल, तिर्थ राय,  राजन वस्नेत, प्रकाश देवकोटा, रुपेश कार्की, मनोज महतो, रिजन मगर, जित मगर र सुजन तामाङलगायतलाई प्रहरीले गिरफ्तार गरेको छ । कात्तिक २७ गते साँझ मसाल जुलुस निकालेको आरोपमा तीन जना र कात्तिक २८ गते बर्दिवास बजार बन्द गराएको आरोपमा नौ जना गरी १२ जना गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए ।

रुपन्देही जिल्ला प्रतनिधि रिमा विसीका अनुसार बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै बुटवलको तिनाउ पुल नजिकै रा १ ह.४५३ नम्बरको अटोरिक्सामा आगजनी गरेका थिए । आगजनीका कारण अटोरिक्साका सिटहरु पूर्ण रुपमा जलेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।


अनलाइन डेस्क