बन्दको अवज्ञा गरेको भन्दै चार ओटा गाडी तोडफोड

प्रदेश नं. १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीविरुद्ध धनकुटाबासीले पुस १९ गते गरिएको आमहड्तालका क्रममा चार ओटा गाडी तोडफोड गरेका छन् ।

बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले दुई ओटा सरकारी, एउटा भाडा र एउटा संस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै प्रदर्शनकारीले आत्मारामा को.१ झ. १६९ नम्बर र को.१ झ.४८३ नम्बरको सरकारी गाडी तोडफोड गरेका छन् ।

त्यस्तै प्रदर्शनकारीले धनकुटाको गोठगाउँमा ना.१ ज ६४११ नम्बरको टाटा सुमो र आत्मारामा ना.७ ख.४७६० नम्बरको दुध बोकेको गाडी तोडफोड गरेका छन् । दुध बोकेको डीडीसीको गाडीले यात्रु ओसारेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुन् । बन्दकर्ताले स्कार्पियो र एउटा सरकारी गाडीको सिसा फुटाएका हुन् ।

कोशीका पहाडी जिल्लालाई असर गर्ने गरी गरिएको आमहड्ताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने बताइएको छ । धनकुटाको जिरोप्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात बन्द गराएका हुन् ।

यसैबिच गाडी तोडफोड गरेको आरोपमा धनकुटा नपा-७ जिरोप्वाइन्टबाट सङ्खुवासभा घर भई धनकुटा बस्दै आएका सुमन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यस्तै आन्दोलनकारीले सयौँ मोटरसाइकल र ३ दर्जन भन्दा बढी गाडीलाई रोकेर राखेका थिए । गाडी रोकिएपछि यात्रु सडकमै अलपत्र परेका थिए ।

उनीहरूले माइकिङ गरेर बजार र यातायात बन्द गराएका थिए । धेरै पसल स्वतःस्फुर्त रूपमा आन्दोलनमा ऐक्यबद्धता जनाउदै बन्द भए भने केही पसल आन्दोलनकारीले बन्द गराएका थिए ।

त्यसैगरी राजधानी प्राप्ति आन्दोलन सङ्घर्ष समितिले ५ बजे पछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ । जिरोप्वाइन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउँदै माग पुरा नभएसम्म निरन्तर बन्द जारी रहने सङ्घर्ष समितिका संयोजक प्रदेश सांसद निरन राईले बताए ।

1

1

1

1


सन्तोष रुचाल