बञ्चरो प्रहार गरी हत्या घटनाका आरोपित छोरा गिरफ्तार

लम्कीचुहा नगरपालिका–६ बाघमाराकी ७१ वर्षीया लगनीदेवी थरुनीको बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा श्रीराम थारुलाई माघ १७ गते गिरफ्तार गरेको छ ।

मदिरा सेवन गरेर आमासँग सामाजिक सुरक्षाभत्ताको रकम माग्ने क्रममा आमाले भत्ता रकम नदिने भनेपछि आवेगमा आएर आरोपित थारुले माघ १६ गते आमामाथि बञ्चरो प्रहार गरी गम्भिर घाइते बनाएको स्थानीय छिमेकी तथा बाघमारा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ललित कामीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बञ्चरो प्रहारबाट गम्भिर घाइते हुनु भएकी लगनी थारुको धनगढीस्थित नवजिवन अस्पतालमा उपचारको क्रममा माघ १७ गते मृत्यु भएको छ ।

घटना भएको जानकारी प्राप्त भएलगत्तै प्रहरी परीचालन गरी आरोपितलाई माघ १७ गते गाउँबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीका हवल्दार मोहनसिंह ठगुन्नाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको र पोष्टमार्टमपछि दाहसस्कारका लागि आफन्तलाई बुझाउने प्रहरी हवल्दार ठगुन्नाले बताउनु भयो ।


मैनामोती चौधरी