बझाङमा मानसिक रोगः उपचारमा समस्या, आत्महत्यामा बृद्धि !
जिल्लामा मानसिक रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या भएको छ । सामान्य खालका मानसिक रोगीहरुलाई समान्य चेकजाँच र औषधि दिने गरिएको भएपनि जटिल खालका मानसिक रोगीहरुले भने उपचार पाउन सकेका छैनन् ।
केही वर्ष पहिला मानसिक रोग परार्मश केन्द्र नामक गैरसरकारी संस्थाले जिल्ला अस्पतालमा डेस्क स्थापना गरेर मानसिक रोगीहरुको उपचार र परामर्श सेवा दिँदै आएको भएपनि सो संस्था जिल्लाबाट बाहिरीएपछि मानसिक रोगीहरुको उपचार र परामर्श सेवामा थप समस्या भएको हो ।
जिल्लामा पछिल्लो तीन वर्षमा १ सय १६ जना मानसिक रोगको समस्याबाट ग्रसित भएको जिल्ला स्वास्थ्य कार्यालय, बझाङसँग तथ्याङक रहेको छ । यो तथ्याङ्क स्वास्थ्य संस्थाको पहुँचमा पुगेका व्यक्तिहरुको मात्रै हो ।
जिल्लामा आर्थिक वर्ष २०७५ / ०७६ मा २३ जना, २०७६ / ०७७ मा ३२ जना, २०७७ / ०७८ मा ३९ जना र यस आर्थिक वर्षको हालसम्म २२ जना मानसिक रोगीहरु स्वास्थ्य कार्यालयको सम्पर्कमा आएको स्वास्थ्य कार्यालय, बझाङका जनस्वास्थ्य निरीक्षक सुरेश रावलले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘आगामी आर्थिक वर्षबाट विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा जिल्लामा मानसिक स्वास्थ्यसम्वन्धी कार्यक्रम सञ्चालन हुन लागेका कारण मानसिक स्वास्थ्यमा केही सुधारका कामहरु गर्न सकिन्छ की भन्ने अपेक्षा गरेका छौँ ।’
प्रगतिशिल युवा समाजले जिल्लाका चार ओटा स्वास्थ्य संस्थामा रहेका मानसिक बिरामीलाई उपचार परामर्श सेवा प्रदान गरिरहेको भएपनि संस्थाको कार्यक्षेत्र सिमित भएका कारण अन्य गाउँपालिकाका धेरै बिरामीहरु उपचार सेवाको पहुँचबाट बाहिरै रहेको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो₋ ‘जिल्लामा मानिसक स्वास्थ्यसम्वन्धी समस्या भएका धेरै व्यक्तिहरु छन् । तर, कोही सामान्य खालका छन् भने कोही जटिल खालको मानसिक समस्याको सिकार भइरहेका छन् । यसमा सम्वन्धित निकायले ध्यान दिएको खण्डमा केही समस्या समाधान हुन सक्छ ।’
नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा मानसिक रोगीका लागि सामान्य औषधि बाहेक अन्य सुविधा उपलब्ध गराउन नसकेको कारण मानसिक रोगबाट पीडित भएकाहरुको उपचारमा समस्या उत्पन्न हुने गरेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क रोकायाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँपालिकाका केहि बालबालिका तथा यूवाहरुमा समेत मानसिक रोग देखिएको छ । स्थानीय सरकारले मात्रै यो काम गर्न सक्दैन् । प्रदेश तथा केन्द्र सरकारले पनि उपचार सेवामा सहयोग गर्नु पर्छ । यसको मापदण्ड बनाएर कडाखालका मानसिक रोगीहरुको रिफर गरी विशेषज्ञ डाक्टरद्धारा उपचार गराउन अनुदान दिने मापदण्ड तयार गरेर अगाडि बढ्न आवश्यक छ ।’
मानसिक रोग सम्बन्धी उपचारको व्यवस्था नभएका कारण जिल्लाका बिभिन्न बजारहरुमा गम्भिर खालका मानसिक रोग लागेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको र सदरमुकाम चैनपुरमा मात्रै दुइ वर्ष यता अस्वभाविक व्यवहार गर्ने ६ जना भन्दा बढी मानसिक रोगीहरु वेवारिसे अवस्थामा भेटिएका खप्तडछान्ना गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र रोकायाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘साविकको माझीगाउँमा मात्रै २३ जना मानसिक रोगीहरु रहेको पाइएको छ । पछिल्लो समय गाउँपालिकामा मानसिक रुपमा समस्या भएका व्यक्तिहरु वढ्दै गएका छन् । ’
नेपालको संविधानमा स्वास्थ्य अधिकारलाई मौलिक हक अन्तर्गत व्यवस्था गरिएको भएपनि दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरु स्वास्थ्य उपचार पाउनबाट वन्चित हुँदै अएका छन् ।
जिल्लाका चार ओटा स्वास्थ्य संस्था देउलेक प्राथमिक स्वास्थ्य केन्द्र, रायल प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र मेलविसौना स्वास्थ्य चौकीबाट मात्रै समान्य किसिमका मानसिक बिरामीहरुलाई चेकजाँच र औषधि दिने गरेको भएपनि अन्य स्वास्थ्य संस्थाहरुमा भने यो सुबिधा छैन् ।
जिल्ला अस्पताल, बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले दैनिक दुई / तीन जना मानसिक रोगको समस्या लिएर जिल्ला अस्पतालमा आउने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जिल्ला अस्पतालमा सामान्य डिप्रेशनको मात्रै उपचार हुन्छ । जटील प्रकारको मानसिक रोगका बिरामीलाई उपचारमा समस्या छ । मानसिक रोगीका लागि दक्ष जनशक्तिको अभाव भएका कारण यस्तो प्रकारको उपचारमा समस्या हुने गरेको छ ।’
आत्महत्याको कारक मानसिक समस्या पनि !
मानसिक समस्या कारण अधिकांश व्यक्तिहरुले आत्महत्या गर्नेसम्मको बाटो रोज्ने गरेको पाइन्छ । पछिल्लो समय जिल्लामा आत्महत्याका घटनाहरु पनि दिनप्रतिदिन बढ्दै गएका छन् । आत्महत्या वढ्नुका पछाडि मानसिक रोगको समस्या पनि रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलप्रसाद चौधरीले बताउनु भयो ।
परिवार तथा कार्यालयमा हुने मानसिक तनावका कारण मान्छे डिप्रेसनमा जाने र पछि त्यसले व्यक्तिलाई आत्महत्यासम्मको अवस्थामा लैजाने गरेको इन्स्पेक्टर चौधरीको भनाइ छ । उहाँले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म जिल्लामा १६ जनाले आत्महत्या गरेको बताउनु भयो ।
गाउँघरमा रहेको अन्धविश्वास तथा देविदेवता लागेको भनेर भन्ने गरेका कारण धेरैजसो व्यक्तिहरुले आफूमा रहेको समस्या बाहिर भन्न नसक्ने अवस्थाले मानसिक रोग डरलाग्दो बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताउनु भयो ।
जिल्लामा मानसिक रोगीहरुको उपचार हुन नसक्नुले धेरै व्यक्तिहरु आत्महत्या गर्न समेत बाध्य हुँदै आएका भएपनि सरकारले मानसिक रोगीहरुको उपचारमा ध्यायन दिन नसकेको नागरिक समाजका अगुवा धर्मजंङबहादुर सिंहले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…