बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप

विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्‍याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ । आफ्नो आमसभा बिथोल्नका लागि एमाले कार्यकर्ताले प्रयास गरेपछि झडप भएको नेपाली काङग्रेसले आरोप लगाएको छ ।

घटना स्थलमा रहेका नेपाली काङग्रेसको तर्फबाट वित्थड चिर गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेदवार गणेश बोहराले १५ भन्दा बढी काङग्रेसका कार्यकर्ता घाइते भएको र प्रहरीले हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको बताए ।

आफूहरूको मोटरसाइकल र्‍यालीमा काङ्ग्रेसको कार्यक्रम स्थलबाट ढुङ्गा प्रहार भएपछि झडपको स्थिति सिर्जना भएको नेकपा एमालेले आरोप लगाएको छ । घटनास्थलमा रहेका अनेरास्वियुका जिल्ला कमिटी अध्यक्ष हरिस खड्काले आफूहरूको शान्तिपूर्ण र्‍यालीलाई काङग्रेस कार्यकर्ताले रोकेर मोटरसाइकलमा समेत आगजनी गरिदिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले झडपको पुष्टी गरे पनि हवाइफायर भए नभएको बारे जानकारी आइ नसकेको जनायो ।

नेपाली काङग्रेसको चुनावी सभालाई सम्बोधन गर्नका लागी पूर्व राज्यमन्त्रीद्वय सुरेस मल्ल र नरेशबहादुर सिंह पनि कार्यक्रम स्थलमा थिए । उनीहरू दुवै जना सुरक्षित रहेको काङ्ग्रेसका कार्यकर्ता गणेश बोहराले बताएका छन् ।


प्रकाश बिक