बजेट विनियोजन नहुँदा पहिरोबाट जोखिम बस्ती स्थानान्तरण कार्य प्रभावित

  ०७८ असार २७ गते

हिमा गाउँपालिका–६ खलढुङ्गामा पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्नका लागि गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा निर्णय गरेकोमा बजेट विनियोजन नहुँदा बस्ती स्थानान्तरण कार्य प्रभावित भएको छ ।

उक्त गाउँमा बाढी पहिरोको जोखिम अध्ययन गरी बस्ती नै स्थानान्तर गर्नका लागि गाउँ कार्यपालिकाको निर्णय र आवश्यक बजेटसहित सघन सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा निवेदन दिइएको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार एक वर्षअघि नै यो जोखिम बस्ती सार्न निर्णय भएको हो ।

गाउँ कार्यपालिकाले निर्णय गरेर बस्ती स्थानान्तरण गर्न सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लालाई परिपत्र गरेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष ०७६/०७७ मा जोखिम बस्ती खलढुङ्गामा स्थानान्तरणका लागि दिइएको निवेदन आर्थिक वर्ष ०७७/०७८ मा सुनुवाइ नभएको अध्यक्ष शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘आगामी आर्थिक ०७८/०७९ सालको पनि बजेट विनियोजन भयो । तर, यो बस्ती स्थानान्तरका लागि बजेट विनियोजन भएन ।’

असार पहिलो साता लगातार परेको वर्षाले हिमा गाउँपालिका–६ खलढुङ्गा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका १ सय १७ जना घरपरिवार विस्थापित भए ।

उहाँले भन्नुभयो–‘बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि घरपरिवार विस्थापित भए । लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिममा पर्‍यो ।’

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काका अनुसार उक्त जोखिम बस्ती स्थानान्तरण गर्न कार्यक्रम बनाएर केन्द्रमा पठाएको भएपनि चालू वर्षमा स्वीकृत भएन ।

आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि बजेट विनियोजन भएपनि उक्त कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल हुनुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले बस्ती स्थानान्तरण गर्न १२ करोड रुपियाँ बजेट आयोजना स्टिमेट तथा कार्यक्रम बनाएर पठाएको छ ।

एउटा घरको ५ लाख रुपियाँका दरले बजेट बनाएको उहाँले जानकारी दिनुभयो । बस्ती स्थानान्तरणसहित विद्यालय, पानी सडक, सबै आवश्यक पूर्वाधारको कार्यक्रम बनाएको छ ।


मानदत्त रावल