बजार तथा पसल बन्द गर्ने तथा सवारी साधन तोडफोड गरेका घटनाका आरोपित गिरफ्तार

  ०७८ फागुन १६ गते

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा नेत्र विक्रम चन्दको नेकपासिहत ६ ओटा कम्युनिष्ट मोर्चाले ०७८ फागुन १६ गते गरेको नेपाल बन्द आह्वानको बागमती प्रदेशमा सामान्य प्रभाव परेको छ ।

अन्य दिनको तुलनामा लामाे तथा छोटो दूरीका यातायात सञ्चालनका केही कमी रह्यो भने बजार तथा पसल बन्द गर्ने तथा सवारी साधन तोडफोड गरेको आरोपमा प्रहरीले केही जिल्लाबाट पार्टीका कार्यकर्तालाई गिरफ्तार समेत गरेको छ ।

इन्सेक बाठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलका अनुसार काठमाडौँमा बन्दको क्रममा तीन ओटा सार्वजनिक यातायातमा तोडफोड भएको छ ।

बन्दकर्ताले सुन्धारास्थित काठमाडौँ मल अगाडि बा३ख ११५८ नम्बरको बसको तोडफोड गरेका छन् भने सुकेधारामा बा४ख १०८० नम्बरको दुधको ट्याङ्करको सिसा फुटाएका छन् ।

यसैगरी कलङ्कीमा बा६ख ३८१५ नम्बरको बसमा तोडफोड गरेका छन् । तोडफोडबाट तीनओटै सवारी साधनको सिसा फुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

त्यस्तै सार्वजनिक सवारी साधन र पसल बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले राजधानीका विभिन्न क्षेत्रबाट १० जना बन्दकर्तालाई गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा पर्नेहरूमा कमलाक्षीबाट मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को बागमती प्रदेश सचिव ३२ वर्षीय सुरेश श्रेष्ठ, सदस्य ३८ वर्षीय सर्जित बज्राचार्य र ३५ वर्षीय दीपक मानन्धर रहेका छन् ।

त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ता रौतहटका ३० वर्षीय सुशील बलम्पाकी, काभ्रेका २४ वर्षीय नरेन्द्र थापा, सल्यानका २७ वर्षीय जीवन बुढाथोकी, दोलखाका २८ वर्षीय राजु कार्कीै, पूवी नवलपरासीका २३ वर्षीय सागर राउत, कालिकोटका २३ हिम्मत विक, रुकुमका २८ वर्षीय अविरल चन्द, रहेका छन् ।

गिरफ्तारीमा परेका बज्राचार्य र श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्ग, चन्द र मानन्धरलाई महानगरीय प्रहरी वृत लैनचौर र अन्यलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको एसपी मैनालीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

यसैबीच नयाँ बानेश्वरस्थित संसद भवनअधिको मूल सडकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलिले निस्कृय बनाएको छ । कुकरलाई तारले बेरेर नो  एमसीसी लेखिएको कुकर डिस्फोजका क्रममा इँटाका टुक्रा र कागज फेला परेको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले बताउनु भयो ।

इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार अपरिचित व्यक्तिहरुले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगको गाडीमा फागुन १६ गते बिहान आगजनी गरेका छन् । अपरिचित तीन जनाले मोटरसाइकलमा आएर बन्दको अवज्ञा गर्ने भन्दै तोडफोड र आगजनी गरेर फरार भएको चालकको भनाईलाई उदृत गर्दै मकवानपुर प्रहरी प्रवक्त डिएसपी जयश्वर रिमालले जानकारी दिनुभएको छ । आगजनीले गाडीको अगाडिको भाग पूर्णरुपले जलेको छ । साथै पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा नगरपालिका–१९, बस्तीपुरमा ना६ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाइएको प्रहरीले जनाएको छ ।

सदनबाट एमसीसी पारित गरिएको विरोधमा विप्लव नेतृत्वको नेकपा सहित ६ पार्टीले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । जिल्लाका शैक्षिक संस्था, कलकारखाना बन्द रहेका छन् । भने हेटौँडा बजार आंशिक रुपमा खुलेका छन् । यस्तै लामो दुरीका सवारी केही मात्रामा सञ्चालन भएका थिए ।

Photomakawanpur20220228

काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध ०७८ फागुन १६ गते  बनेपा नगरपालिका पुल बजारमा ‘नो एमसीसी, खतरा’ लेखेको शङ्कास्पद वस्तु राखेको आरोपामा महाभारत गाउँपालिका– ६ बनखुका २७ वर्षीय युगान्त थिङ र २२ वर्षीय विकेश थिङलाई फागुन १६ गते बनेपा बजारबाट जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

प्रहरीले गिरफ्तार गरेकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिनु भयो । डिएसपी हरी खतिवडाका अनुसार शङ्कास्पद वस्तुलाई नेपाली सेनाको कालीजंगगण धुलीखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको थियो ।

सिन्धुली प्रतिनिधि नविनबावु अधिकारीकाअनुसार जिल्लाका विभिन्न स्थानमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) अनुमोदन गरेको विरोधमा बन्द गराउँदै हिडेका १६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ दलीय मोर्चाले फागुन १६ गते आह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरीले १६ जना बन्दकर्तालाई गिरफ्तार गरेको हो ।

कमलामाई नगरपालिका–६ स्थित बजार क्षेत्रमा बन्द गराउँदै हिँडेका नेकपका जिल्ला सेक्रेटरी गोपाल ब्लोनको नेतृत्वको टोलिले जबर्जस्ती गाडी तथा बजार बन्द गर्दै हिँडिरहेका नौ जना र मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाडी तथा बजार बन्द गर्दै हिडिरहेका सात जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बुद्धिमणि नेपालले बताउनु भयो ।

प्रहरीले गिरफ्तार गरेकाहरूमा हरिहरपुरगढी गाउँपालिका–२ निवासी नेकपा जिल्ला सेक्रेटरी ३० वर्षीय गोपाल व्लोन, हरिहरपुरगढी गाउँपालिका–२ निवासी नेकपा विशेष सदस्य ४२ वर्षीय शशि राई, कमलामाई नगरपालिका–२ निवासी माओवादी (क्रान्तिकारी) का जिल्ला सचिव थलप्रसाद देवकोटा र कमलामाई नगरापलिका–५ निवासी प्रदेश सललाहाकार सदस्य ईन्दिरा रायमाझी, कमलामाई नगरपालिका–४ निवासी जिल्ला सदस्य हरि बस्नेत रहेको छन् ।

यसैगरी कमलामाई .नगरपालिका–४ निवासी देशभक्त गणतान्त्रिकका कार्यकर्ता ढकप्रसाद देवकोटा, दुधौलि नगरपालिका–८ निवासी केकपाका भरत बल, ध्याङलेख गाउँपालिका–२ निवासी नेकपा माओावदी (क्रान्तिकारी)का जिल्ला सदस्य भरत भुर्जा मगर, हरिहरपुरगढी गाउँपालिका–३ निवासी नेकपाका जिल्ला सदस्य नरबहादुर अछामीलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नेपालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कपिलाकोटले हरिहरपुरगढी गाउँपालिका–२ बखवर निवासी गाउँपालिका इन्चार्ज ४६ वर्षीय ज्ञानबहादुर लामा, बखबरका २१ वर्षीय बिप्लव तामा, १७ वर्षीय आर्यन लामा, मरिण गाउँपालिका–६ नयाँ वस्ति निवासी नेकपाका केन्द्रीय सदस्य ३८ वर्षीय तेज लामा, मरिण गाउँपालिका–३ चनौटेका ३२ वर्षीय दिनेश माझी, मरिण गाउँपालिका–५ वढिमुहानका ३५ वर्षीय राजन माझी र मरिण गाँउपालिका–३ का २४ वर्षीय बि. लामालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएका नौ जना र इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएका सातै जनालाई सोही दिन साँझ ६:२० बजेपछि रिहा गरिएको इन्स्पेक्टर नेपालले बताउनु भयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा