बजारबाट जफत गरिएका अखाद्य पदार्थ जलाइयो

जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख सदरमुकामका केही पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ ।

असोज ८ र ९ गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपाने, समरसुर गुल्मका मेजर अरूण कार्की, डीएसपी सरोज पौडेल, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत डीएसपी नरेश बम, उद्योग बाणिज्य सङ्घ र पत्रकारहरूको रोहवरमा ती अखाद्य वस्तु जलाइएको हो ।

बजार अनुगमनको क्रममा बिष्कुट, चाउचाउ, हलुवा पकाउने पीठो, तेल, मसलालगायतका सामग्री रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले बजारमा म्याद नाघेका मदिरा, फ्रुटीलगायतका पेय पदार्थ र औषधि समेत विक्री वितरण भइरहेको भन्ने उजुरी प्राप्त भएकोले प्रशासन कार्यालयले अनुगनलाई तीव्रता दिने बताए ।


अमर सुनार