फौजदारी कसूरसम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ सर्वसम्मतिले पारित गरेको राससले जनाएको छ । मुलुकी ऐनलाई विस्थापन गर्न प्रस्तुत विभिन्न पाँच विधेयकमध्ये यो पनि एक हो ।

यसअघि साउन २५ गते मुलुकी अपराध संहिता विधेयक २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक २०७४ पारित भएको थियो ।

बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन विधेयक २०७४’ माथि दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावलाई पनि स्वीकृत गरेको छ ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति जुठबहादुर टुहुरे खड्गीले श्रम विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरे । उनले मुलुकभित्र उद्योगधन्दा हडताल र श्रम शोषणका कारण बन्द भई श्रम क्षेत्रको जनशक्ति विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न र रोजगारदाता तथा श्रमिकबीच उत्पन्न हुने विवादलाई समाधान गर्न प्रतिवेदनले सुझाएको बताए ।

 


अनलाइन डेस्क