फोहोर व्यवस्थापन नगर्दा सिमलचौर बस्ती दुर्गन्धित, स्थानीयबासीको स्वास्थ्यमा असर

वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौर बस्ती दुर्गन्धित बन्दै गएको छ ।

फोहोर व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको स्थानीय रुपा विकले गुनासो गर्नुभयो । ‘गर्मी बढेको छ । नगरपालिकाले जथाभाबी फोहोर फाल्दा बस्तीमा दुर्गन्ध फैलिएको छ,’उहाँले भन्नुभयो, ‘वीरेन्द्रनगर नगरपालिकाले आफ्नै सिमानामा फोहोर व्यवस्थापन गर्नुपर्छ, नभए हामीलाई यहाँ बस्ने वातावरण नै हुँदैन ।’

जथाभाबी रूपमा फोहोर फाल्दा हिँडडुल गर्न र घरमा बस्न समेत समस्या भएको अर्का स्थानीय जानुका आचार्यले बताउनुभयो । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उहाँको भनाइ छ ।

जथाभाबी कुहिएको र जलाइएको फोहोरले वातावरण दुर्गन्धितसँगै मानव बस्तीमा रोगको जोखिम बढेको उहाँको भनाइ छ । प्लास्टिक र बोतलबाट निस्कने धुवाँ मानव स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ तर त्यहाँ दैनिक रूपमा फोहोर जलाउने गरिएको छ । बस्ती नजिकै फोहोर जलाउँदा आफूहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीय अगुवा दुर्गाबहादुर लामिछानेले बताउनुभयो । दमको रोगी ज्येष्ठ नागरिकहरुलाई झन धुवाँले असर गरिरहेको उहाँले बताउनु भयो ।

जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिएको र त्यसमाथि प्लास्टिक र बोतल जलाउने गरिएको उहाँको भनाइ छ । फोहोरले दुर्गन्ध फैलिएपछि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि  सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईबस्तु, कृषिउपज र वातावरणमै नकारात्मक असर परेको जनाइएको छ ।

प्रभावित क्षेत्र बराहताल गाउँपालिका–१० का वडाध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगरको फोहोरले दुर्गन्ध फैलिँदा मानव बस्तीमा समस्या भएको बताउनुभयो । वीरेन्द्रनगरको फोहोर आफूहरूको क्षेत्रमा जथाभाबी फाल्ने गर्दा स्थानीयबासीको स्वास्थ्यमा असर परेको उहाँको भनाइ छ । यो समयमा नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले यसको प्रमुख कारण फोहोर नै रहेको उहाँले दाबी गर्नुभयो । वडा अध्यक्ष सलामीले यस विषयमा जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१ मा कृष्ण सामुदायिक वनमा ल्यान्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्यान्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । न्यून बजेटका कारण निर्माणमा ढिलाइ भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड निर्माण थालिएको हो । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । अहिलेसम्म पनि काम अधुरै छ ।

बजेट अभावमा ल्याण्डफिल्ड साइड निर्माणमा ढिलाइ भएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्रोतको खोजी गरिरहेको र यो समस्याको समाधान छिट्टै गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । चालु आवमा प्रदेश सरकारको ५० लाख रुपियाँ र नगरपालिकाको ५० लाख रुपियाँबाट ल्याण्डफिल्ड साइड निर्माणको काम गरिने नगरपालिकाले जनाएको छ । नगरको फोहोर व्यवस्थापनका लागि करिब ३५ करोड रुपियाँ बजेट लाग्ने अनुमान छ ।

कमजोर फोहोर व्यवस्थापनका कारण वीरेन्द्रनगर दिनप्रतिदिन कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले बजार क्षेत्रको फोहोरसमेत समयमै उठाउन सकिरहेको छैन । नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिकासमेत पूर्ण रूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसङ्ख्याको चापले वीरेन्द्रनगरमा फोहोरमैला व्यवस्थापन चुनौती बन्दै गएको छ ।
Photo20240530Surkhet


जगतदल जनाला विक