फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा

  ०८० असोज ९ गते

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ ।

Photo_080-6-9_Kathmandu

फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु पर्ने, सडकमा व्यवसायी गर्ने फुटपाथ व्यवसायीहरूलाई लखेट्न बन्द गरिनु पर्ने लगायत माग राखेर ०८० असोज २ गतेदेखि राष्ट्रिय सभागृहको गेट छेउमा उभिएर धर्ना बस्नुभएको हो ।

धर्नाको सुरुवाती दिनमा काठमाडौँ महानगरपालिकाको मेयरको कार्यालयअघि ७७ घण्टसम्म उभिने लक्ष लिएर धर्नामा बस्नुभएका अभियन्ता ईः को धर्ना १ सय ७० घण्टा पुगिसकेको छ । निरन्तर उभिरहनु भएका कारण दुवै खुट्टा सुन्निएकाले ईः लौरोको सहारामा उभिरहनु भएको छ ।

इन्सेकसँग कुरा गर्दै अभियन्ता ईः ले महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि दुर्व्यवहार र ज्यादती गरिरहेकाले त्यस्तो कार्य बन्द गरिनु पर्ने र फुटपाथमा व्यवसाय गरेर खानेहरूलाई उचित विकल्प दिएर व्यवस्थापन गर्नु पर्ने बताउनु भयो । उहाँले मेयर बालेन्द्र शाहले चुनावअघि सडकमा व्यवसाय गरेर बसेका साना व्यवसायीको उचित व्यवस्थापन गर्ने बताएकोमा अहिले त्यो प्रतिबद्धता विपरीत कार्य गरेको र दम्भ बढेको उल्लेख गर्नुभयो । शहर धनीका लागि मात्र नभएर मध्यम तथा निमुखा वर्गको बाँच्ने आधार भएकाले फुटपाथ व्यवसायीलाई बिहान र बेलुका अस्तव्यस्त नहुने ठाउँमा खोल्न दिनु पर्ने उहाँको भनाइ थियो ।

धर्नामा बसि रहनुभएका ईः को समर्थनमा फुटपाथ व्यवसायीहरूले पनि ऐक्यबद्दता जनाउँदै उहाँसँगै धर्ना बसेका छन् । ईः यसअघि कोभिड-१९ महामारीका बेला स्वास्थ्य समाग्री र राहतमा घोटाला भएको भन्दै सुरु गरिएको 'इनफ इज इनफ' आन्दोलनको नेतृत्व गरेका कारण ईः चर्चामा रहनुभएको थियो ।

Photo_080-6-9_Kathmandu1


विमल पौडेल