फुजेल हत्याकाण्डका मुख्य आरोपितद्वारा सर्वोच्चमा आत्मसमर्पण, लगत्तै जेल चलान

फुजेल हत्याकाण्डका मुख्य आरोपित छविलाल पौडेलले सर्वोच्च अदालतमा असार २४ गते आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेका पौडेललाई लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।

गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनी ‘फरार’ रहेका थिए । उनलाई चितवन जिल्ला अदालतले ०७१ साल वैशाख ४ गते धरौटीमा रिहा गरेको थियो ।

पुनरावेदन अदालतले त्यसलाई सदर गरेको भए पनि सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो । सर्वोच्च अदालतले ०७२ साल पुस ६ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

बिगत लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसाद अधिकारीकी आमा गङ्गामाया अधिकारी पछिल्लो समय जेठ १५ गतेदेखि वीर अस्पतालमा आमरण अनशन बसिरहेकी छन् ।

यसअघि अनशनकै क्रममा उनका पति नन्दप्रसाद अधिकारीको निधन भएको थियो । अनशन बसेको ३ सय ३४ दिनमा ०७१ असोज ६ गते वीर अस्पतालमै अधिकारीको मृत्यु भएको थियो । अधिकारीको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

गङ्गामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका मानव अधिकार क्षेत्रमा कार्यरत सङ्घसङ्गठनका साथै मानव अधिकारकर्मीहरूले उनको माग पुरा गराउनका लागि सरकारलाई दबाव दिँदै आएका छन् ।

६८ वर्षका पौडेलले असार २४ गते आफैँ सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका हुन् । लगत्तै उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।


सुभाष साह