फिरौतीका लागि बालकको अपहरण, तीन दिनपछि सकुशल उद्दार

  ०८० वैशाख २२ गते

भोक्राहा नरसिंह गाउँपालिका–७ का ११ वर्षीय बालक रूपेश यादव अपहरणमा परेको तीन दिनपछि वैशाख १९ गते सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

फिरौतीका लागि ०८० वैशाख १७ गते दुहवी नगरपालिका–१२ बुगडेरी गाई फर्मबाट अपरहणमा परेका बालकको वैशाख १९ गते भारतको जोगवनी क्षेत्रबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

वैशाख १७ गते छोरा घर नआएको र खोजीका क्रममा वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको बालकका ४८ वर्षीय बाबु विन्देश्वर यादवले बताउनु भयो ।

वैशाख १८ गते भारतीय नम्वर प्रयोग भएको ह्वाटसएपबाट छोरा फिर्ता चाहेको भए २५ लाख रुपियाँ फिरौती माग भएको विन्देश्वर मण्डलले बताउनु भयो ।

भारतीय नम्वर प्लेट बीआर ०९ आर ०७९६ नम्बरको स्कारपीओ गाडीमा आएका पाँच जना भारतीय मुलका व्यक्तिले अपहरण गरेको डिएसपी राजकुमार राईले बताउनु भयो ।

अपहरणकारी २२ वर्षदेखि ४० वर्ष उमेरसमूहका भएपनि उनीहरूको विस्तृत विवरण प्राप्त हुन नसकेको डिएसपी राईले बताउनु भयो ।

कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अपहरित बालकको उद्दार गरेको प्रहरीको भनाइ छ ।

वैशाख १७ गते दुहवी नगरपालिका–१२ बुगडेरी गाई फर्ममा भारतीय नम्वर प्लेट भएको गाडीमा आएका पाँच जनाले खाजा खान जाऊ भनि आफूलाई प्रलोभनमा पारेको र अपहरण गरेको पीडित बालकको भनाइ छ ।


जयकृष्ण यादव