फर्जी मत खसालेको आरोप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत खसालेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लमा उजुरी परेको छ ।

नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र शाहीले उक्त मतदान केन्द्रमा एमालेले फर्जी मत खसालेको भन्दै मङ्सिर १० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लामा उजुरी दिएका हुन् ।

उक्त मतदान केन्द्रमा ४ सय बढी फर्जी मत खसालेको काङ्ग्रेसको आरोप छ । एमालेका कार्यकर्ता तथा एजेण्टले जिल्ला बाहिर रहेका, ज्येष्ठ नागरिक तथा मतदान स्थलमा नभएका अन्य व्यक्तिको परिचयपत्रबाट मतदान गरेपछि काङ्ग्रेसले बहिष्कार गरेको उम्मेदवार शाहीले बताए । उनले भने-'उजुरीका विषयमा हामी प्रमाण जुटाउँदै छौँ । मरेका मान्छेका नाममासमेत मतदान गरिएको छ ।'

फर्जी परिचय पत्रको प्रयोग गरेर मतदान भएको भन्दै मतदान अधिकृतलाई जानकारी गराएर परिचय पत्र जिम्मा लगाए पनि पुनः परिचय पत्र खोसेर मतदान गरेको काङ्ग्रेसका तर्फबाट प्रतिनिधि बसेका महेन्द्र हमालले आरोप लगाए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रका वाम गठवन्धनका उम्मेदवार पदम रोकायाले आफू कमजोर भएपछि विभिन्न आरोपमा उत्रेको प्रतिक्रिया दिए । उनले भने-'यो एकदम निराधार कुरा हो । उक्त मतदान केन्द्रका १ हजार ४३ मतदातामा ९ सय ३ मत खसेको छ । त्यसमा १ सय ४० मत खसेकै छैन त्यो कसरी फर्जी हुन्छ उनले भने रोकायावाडा भनेको एमालेको गड हो । त्यो ठाउँमा सक्छौ भने पुन मतदान गरेर हेरौँ ।'

मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गनाले फर्जी मतका विषयमा नेपाली काङ्ग्रेसको तर्फबाट लिखित जानकारी कार्यालयलाई आएको भएपनि उजुरीका रूपमा नआएको बताए । उनले भने-'त्यो मतदान केन्द्रमा फर्जी मतको विषयमा मतदान अधिकृतलाई त्यतिबेला नै उजुरी गर्नुपर्ने हो । त्यसो भएको पनि देखिँदैन ।' कार्यालयमा आएको लिखित जानकारीका विषयमा कानुनी आधारमा टुङ्गे लगाउने उनले बताए ।


मानदत्त रावल