प्रिन्सिपलद्वारा विद्यार्थीलाई कुटपिट, आरोपित गिरफ्तार

  ०७९ असार २५ गते

ढोरपाटन नगरपालिका–१ बुर्तिवाङको न्यू मोर्डन एकेडेमीमा अध्ययनरत तमानखोला गाउँपालिका–२ भयरबोङ्गाका १५ वर्षीय हिक्मत बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका प्रिन्सिपल दीपक कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ ।

पीडित विद्यार्थीलाई आरोपितले असार २२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले कुँवरलाई २४ गते गिरफ्तार गरेको जनाएको छ ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।

घाइते बिकको टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । प्रिन्सिपल कुँवरले बिकको टाउको र शरीरका विभन्न अङ्गमा रबरको पाइपले कुटपिट गरेपछि बालक विद्यालयमै बेहोस भएको पीडित पक्षको आरोप छ ।

घाइते बालकलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा लगिएको आमा मन्सरा बिकले बताउनु भयो ।

पीडित बालककी आमाले इलाका प्रहरी कार्यालय बुर्तिवाङमा असार २३ गते उजुरी दिनुभएको थियो ।


सिर्जना पन्त