प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुँदा उपचारमा समस्या

  ०७६ मङ्सिर २२ गते

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयबासीलाई समस्या परेको छ ।

स्वास्थ्य केन्द्र कोलमा रहनुभएका मेडिकल अधिकृत डाक्टर टपेन्द्र कोइराला कात्तिक महिनाको अन्तिम तिर समायोजन रोजेर अन्यत्र जानुभएदेखि स्थानीयको उपचार गर्नमा समस्या भएको हो ।

डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरेलगायत सेवा प्रभावित भएको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले बताउनुभयो ।

‘चोटपटक लागेर आएका बिरामीहरूको एक्सरे गरेपनि त्यसको रिपोर्ट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहीन भएको छ ।’–अध्यक्ष पुनले भन्नुभयो–‘त्यसका साथसाथै पोष्टमार्टम, स्वास्थ्य परीक्षण गर्नुपर्ने घटनालगायत डाक्टरबाट पाउने सेवा प्रवाहबाट वञ्चित हुनुपरेको छ ।’

यस स्वास्थ्य केन्द्रमा जिल्लाकै स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो । डाक्टर नभएपछि स्वास्थ्य बिमितले औषधि तथा उपचार पाउन सकेका छैनन् ।

सूचीकृत स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड सेवा लगायतका सेवा हुनुपर्ने हुन्छ । तर, यी सबै सेवा प्राथमिक स्वास्थ्य केन्द्र कोलमा भएपनि जनशक्तिको अभावमा अहिले ठप्प भएको छ ।

डाक्टर नहुँदा यो गाउँपालिकाका १४ ओटै वडा, भूमे गाउँपालिकाका १,२ र ३ वडाका र सिस्ने गाउँपालिकाका दुई ओटा वडाका स्थानीय प्राथमिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

पुथा उत्तरगङ्गाका अधिकांश बस्तीहरूमा सडक पुगेको छैन । कोल आउनमा मात्र पेल्मा, मैकोट, हुकामलगायत दर्जनौ बस्तीका बासिन्दालाई दिनभरीको बाटोमा बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यता रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका भरतकुमार पुनले बताउनुभयो ।

‘सडक भएका ठाउँमा पनि समस्या परेको बेला गाडी पाइँदैन । सडक सञ्जाल जोडिँदै छ । तर, भौगोलिक विकटताका कारणले समयमै उपचार पाउन नसकेर आपत् पर्छ ।’–उहाँले दुखेसो पोख्नुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि स्टाफ नर्स, एचएको दरबन्दी पनि खाली रहेको छ । यसले गर्दा पनि थप सेवा प्रवाहमा समस्या हुने गरेको अहेब सुनरोजी पुनले जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तिमा एक डाक्टरसहित ११ जनाको दरबन्दी आवश्यक रहेको छ । अहिले यस प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना अहेब, तीन जना अनमी र एक ल्याब असिस्टेन्ट गरी सात जना कार्यरत रहुभएको छ ।

खाली दरबन्दीको लागि विज्ञापन आह्वान गरिएकोमा अहिले सम्ममा कसैको पनि दरखास्त नआएको गाउँपालिकाकी उपाध्यक्ष ओमकुमारी शाही मल्लले जानकारी दिनुभयो ।

photo20191208eastrukum (1)


जयमान बुढा मगर