प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा सेवाग्रही समस्या

  ०७६ चैत ५ गते

मन्थली नगरपालिका–११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा चिकित्सक नबस्दा र औषधिको उपलब्धता नहुँदा सेवाग्रही समस्यामा परेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा सेवा लिनको लागि मन्थली नगरपालिका ११ र १२ का स्थानीयहरु जाने गर्दछन् । तर,स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एक जना हेल्थ असिस्टेन्ट, एक स्टाफ नर्स सहित नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । स्टाफनर्सको दरबन्दी रिक्त छ । अन्य सबै दरबन्दीका स्वास्थ्यकर्मीहरू छन् । तर स्वास्थ्यकर्मीहरू स्वास्थ्य केन्द्रमा नबस्दा स्थानीयहरू उपचार पाउनबाट बञ्चित भएको पूर्व वडा अध्यक्ष दिपक गम्भिर सिंह अधिकारी बताउनु हुन्छ ।

स्वास्थ्य केन्द्रको दरबन्दीका डाक्टर सुशान्त भण्डारी नियमित स्वास्थ्य केन्द्रमा नबस्ने उहाँले गुनासो गर्नु भयो । डाक्टरले मात्र हैन हेल्थ असिस्टेन्टले पनि स्वास्थ्य केन्द्रमा समय नदिएको शारदा मावि गेलुका सहायक प्रधानाध्यपक रवि खत्रीले बताउनु भयो ।

‘कम्तिमा डाक्टर नबस्दा हेल्थ असिस्टेन्ट, हेल्थ असिस्टेन्ट नबस्दा डाक्टर मात्रै बसेर सेवा दिए पनि नागरिकले सेवा पाउने थिए’, उहाँले भन्नु भयो । ‘गाउँमा डाक्टरको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्र छ, भएर मात्रै के गर्नु ? न डाक्टर हुन्छन् न औषधि,हामीले स्वास्थ्य चौकीबाट पाउने सामान्य सेवा पनि पाउन सकेका छैनौँ’, साविक गेलु गाविसका पूर्व उपाध्यक्ष अर्जुन केसीले प्राथमिक स्वास्थ्य केन्द्र गेलुको सेवा प्रति यसरी गुनासो गर्नु भयो ।

photo20200318Ramechhap

स्वास्थ्य केन्द्रमा नियमित औषधि र स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नसकेको मन्थली नगरपालिका–११ का कार्यवाहक वडाअध्यक्ष जीतबहादुर तामाङले बताउनु भयो । ‘औषधि ल्यायो डाक्टर हुँदैन, डाक्टर ल्यायो औषधि हुँदैन,सधैं समस्या भयो’, उहाँले भन्नु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी लक्ष्मी अधिकारीले सिनियर कर्मचारीहरू नबसे पनि आफूहरूले नियमित सेवा दिएको दाबी गर्नुभयो । ‘हामीले जानेको र सकेको सेवा दिएका छौँ, कतिपय औषधिहरु हेल्थ असिस्टेन्ट भन्दा मुनिकाले चलाउन मिल्दैन, कतिपय  औषधि डाक्टर बाहेकले चलाउन मिल्दैन, हामीले चलाउन मिल्ने जति औषधि चलाएर सेवा दिई रहेका छौ’ उहाँले भन्नुभयो । स्वास्थ्यकेन्द्रमा निशुल्क दिने औषधि पनि पर्याप्त नहुँदा समस्या भएको उहाँले बताउनु भयो । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रको समस्या बारे आफूलाई जानकारी नआएको बताउनुभयो ।


नबराज पथिक