प्राचार्य डा. खरेललाई दुई दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौँकी प्राचार्य डा. गीता शिवाकोटी खरेलसँग दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको निर्वाचन प्रसारप्रसारमा सहभागी भएको भन्दै आयोगले मङ्सिर ६ गते उनलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

खरेलले सामाजिक सञ्जाल युट्यूवमार्फत काठमाडौं क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा मत मागिरहेको श्रव्य दृश्यसहितको सूचना आयोगमा प्राप्त भएको आधारमा स्पष्टीकरण सोधिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

'यहाँजस्तो सार्वजनिक पदमा रहेको व्यक्तिले यसरी कुनै दल वा उम्मेदवारको पक्षमा मत माग्ने कार्य निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा तपाईलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरे बापत कारबाही किन हुनु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २ (दुई) दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशानुसार अनुरोध छ'-आयोगले खरेललाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।


सुभाष साह