प्रहरी हिरासतमा मृत्यु घटना छानबिनका लागि समिति गठन

  ०७८ भदौ २२ गते

लागु औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएका भनिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्युका विषयमा छानबिनका लागि भदौ २१ गते पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

लागु औषध मुद्दामा भदौ १८ गते गिरफ्तारीमा परेका कामत जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको अवस्थामा बिरामी भएपछि प्रहरीले भदौ २० गते उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो । सोही बेला गाडीबाट निस्कने क्रममा मुखमा फिँज निकाली बेहोस भएका कामतको उपचारका क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि अस्पताल पुर्‍याएको अवस्थामा मृत्यु भएका कामतका परिवार तथा आफन्तले हिरासतमा यातना दिएका कारण मृत्यु भएको आरोपमा भदौ २० र २१ गते विरोध प्रर्दशन गरेका थिए ।

भदौ २० गते कोशी अस्पतालको शव गृह घेराउ गरी पोष्टमार्टम गर्न अवरोध पुर्‍याएको पीडित पक्षले भदौ २१ गते जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएर टायर बालेको थियो ।

पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति दिन माग गरेपछि भदौ २१ गते मोरङका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा पाँच सदस्य घटना छानबिन समिति गठन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो ।

छानबिन समितिमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी, विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, विराटनगर महानगरपालिका–१२ का वडाध्यक्ष हिरालाल कामत र वीरेन्द्रकुमार कार्कीसहितको छानविन समिति गठन भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

छानबिन समितिले घटनाका विषयमा छानबिन गरी एक साताभित्र दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिका लागि सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो ।

छानबिन समितिका सदस्य विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले मृतकको पिठ्यूमा निलडाम भएकाले घटना शंकास्पद रहेको बताउनु भयो ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा भदौ २२ गते गरिएको छ ।

पीडित पक्षले शव बुझि विराटनगर महानगरपालिका–११ केशलिया घाटमा सद्गतको तयारी गरेको वडाध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

Photo 20210708 Morang (1)

Photo 20210708 Morang (3)

Photo 20210708 Morang (2)  Photo 20210708 Morang (4)


अर्जुन दर्जी