प्रहरी हिरासतमा मृत्यु घटनाको विरोधमा प्रर्दशन र आगजनी, छानविनका लागि समिति गठन

   ०७८ असोज २४ गते

भोक्राहा नरसिंह गाउँपालिका–५ का २१ वर्षीय मोहम्मद हकिम शाँले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा असोज २४ गते बिहान आत्महत्या गरेको विषयलाई लिएर पीडित पक्षले गरेको विरोधमा प्रहरी र स्थानीयबिच झडप भएको छ ।

झडपको क्रममा प्रर्दशनकारीहरूको ढुङ्गा प्रहारबाट १३ जना भन्दा बढी प्रहरी र दुई जना प्रर्दशनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत डिएसपी ४० वर्षीय नरेन्द्रकुमार कार्की, इन्स्पेक्टर ३२ वर्षीया मीना राई, ३५ वर्षीया मेनुका राई, ३४ वर्षीय हरी कार्की, प्रहरी जवान २५ वर्षीया मनिषा चौधरी, २२ वर्षीया रोजिना कार्की, २४ वर्षीया पवित्रा तामाङ, २४ वर्षीया कमला कार्की, प्रहरी जवान २८ वर्षीय सुरेन्द्र खत्री, २५ वर्षीय रवीन्द्र दनुवार, २६ वर्षीय रमेश कार्की, २६ वर्षीय कालुराम राजवंशी र २४ वर्षीय जीवराज राई रहेका छन् ।

घाइते सबैको उपचार प्रहरी कार्यालयभित्र चिकित्सक डाक्टर रवीन्द्र मण्डलबाट भएको डिएसपी कार्कीले बताउनु भयो ।

प्रर्दनकारीतर्फ हरिनगर गाउँपालिका–१ रामनगरभुटाहाका २४ वर्षीय कलामुद्धिन मियाँ र सोही ठाउँका २१ वर्षीय सरिफ मियाँ घाइते भएका छन् । टाउका चोट लागेकाद्घयको उपचार जिल्ला अस्पतालमा गरिएको छ ।

प्रर्दशनकारी र प्रहरीबिच उत्पन्न तनावका कारण असोज २४ गते बिहानैदेखि सदरमुकाम दिनभर तनावग्रस्त भएको छ । प्रर्दशनकारीले सुरक्षाका लागि खटिएका प्रहरीबाट ढुङ्गा प्रहार गरेपछि प्रहरीले स्थिती नियन्त्रणका लागि ३७ सेल अश्रु ग्यास प्रहार गरेको डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

घटनाको कारणः अन्तरजातीय प्रेम

भोक्राहा नरसिंह गाउँपालिका–५ का २१ वर्षीय मोहम्मद हकिम शाँ र इनरूवा नगरपालिका–९ की १७ वर्षीया शर्मा थरकी बालिकाबिच प्रेम सम्बन्ध रहेको थियो ।

दुवै पक्षका अभिभावकले अन्तरजातीय सम्बन्धलाई स्वीकार नगरेको अवस्थामा २१ वर्षीय हकिम शाँले ०७८ साउन ३ गते राति बालिकालाई भगाएर धनकुटाको धनकुटा नगरपालिका–१ स्थित हिलेमा लुकाएर राखेका थिए ।

इनरूवा नगरपालिका–९ का ४५ वर्षीय विष्णु शर्मा बालिकाका बाबुले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा शरीरबन्धक शीर्षकमा उजुरी दिए ।

आरोपितविरूद्ध प्रहरीमा उजुरी परेपछि प्रहरी कानुनी प्रक्रिया अघि बढाएको अवस्थामा हकिम शाँको परिवारले दुवै पक्षलाई घर बोलाएर वार्ताका माध्यमबाट समस्या समाधानका लागि पहल गरे ।

परिवारको आग्रहमा हकिम शाँले असोज १२ गते प्रेमिकालाई लिएर घर आएको अवस्थामा बालिकाका बाबु विष्णु शर्माले हकिम शाँसँग जे भयो–भयो,छोरीलाई छोड्न आग्रह गरे ।

विष्णु शर्माले गरेको अनुरोधलाई बेवास्ता गर्दै हकिम शाँले विष्णु शर्मामाथि हातपातको प्रयास गरे ।

शाँले आफूमाथि हातपात गरेको आरोपमा विष्णु शर्माले आरोपितविरूद्ध असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार शीर्षकमा उजुरी दिए ।

आरोपितलाई प्रहरीले असोज १३ गते अनुसन्धानका लागि घरबाटै गिरफ्तार गर्यो । आरोपितविरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा असोज १३ गते अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पहिलो पटक पाँच दिन र दोस्रो पटक एकसाता लागि म्याद थप्ने गरी कारबाही अघि बढायो ।

आरोपित शाँविरूद्ध प्रहरीले पहिलो पटक असोज १३ गतेदेखि १७ गतेसम्म र दोसो पटक असोज १८ गतेदेखि असोज २४ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

असोज २२ गते जिल्ला प्रशासनमा आरोपितलाई उपस्थित गराउने तयारी गरेको प्रहरीले शुक्रवार भएका कारण असोज २४ गते आइतवार शाँलाई उपस्थित गराउने तयारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउनु अघि थुनुवा अवस्थामा रहेका शाँसँग ६५ वर्षीय बाबु फूलमहम्मद मियाँले भेट गरेका थिए ।

भेटका क्रममा धरौटीका लागि आवश्यक ५ हजार रुपियाँ र खाना खर्चका लागि २ हजार गरी ७ हजार रुपियाँ छोरालाई दिएको बाबु फूलमहम्मद मियाँले बताए ।

प्रहरीले आरोपितलाई असोज २४ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर धरौटीमा रिहा गर्ने तयारी गरेको अवस्थामा आरोपितले असोज २४ गते बिहान ३ बजे थुनुवा कक्षमै गम्छाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनायो ।

शाँले थुनुवा कक्षमा आत्महत्या गरेको नभई नियोजित रूपमा हत्या भन्दै पीडित पक्षले प्रहरी कार्यालय अघि प्रर्दशन गर्नुका साथै ढुङ्गामुडा र आजगनी गरेका थिए ।

जसका कारण असोज २४ गते बिहानैदेखि सदरमुकाम दिनभर जसो तनावग्रस्त भएको थियो ।

घटनापछि हिरासत कक्षको आयोग इन्सेकद्धारा अनुगमन

असोज २४ गते हिरासत कक्षमा भएको मृत्युको विषयलाई लिएर प्रहरी र पीडित पक्षबिच झडप भएको विषयसहित हिरासत कक्षको अवस्थाका बारेमा असोज २४ गते इन्सेक सुनसरी र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयले अनुगमन गरेको छ ।

मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला र इन्सेक सुनसरी प्रतिनिधिले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

असोज २४ गते हिरासत कक्षभित्र आत्महत्या भएको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीलाई भेटेर  थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव समेत दिएको आयोग निर्देशक निुत गड्तौलाले बताउनु भयो ।

अनुगमन टोली समक्ष सीसीटीभी क्यामेरामा स्पष्ट रूपमा शाँले आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने एसपी सञ्जयसिंह थापाले बताउनु भयो ।

आक्रोशित पक्षद्धारा घरमा आगजनी

हिरासत कक्षमा आत्महत्या नभई नियोजित हत्या भन्दै विरोधमा उत्रिएका मृतकका आफन्तले असोज २४ गते बालिकाको घरमा आगजनी गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–५ का मुस्लिम युवाहरूले घरमा आगजनी गरेको घरधनी विष्णु शर्माले बताउनु भयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दुहवी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।

आगो नियन्त्रणमा खटिएका इनरूवा नगरपालिका–९ का ४५ वर्षीय दयान्दन खत्वेलाई मुस्लिम युवाहरूले हातपात गरि घाइते बनाएको घरधनी विष्णु शर्माले बताउनु भयो । आगलागीबाट ४० लाख रुपियाँ बराबरको क्षति भएको पीडितको भनाइ छ । प्रहरीले भने ४ देखि ६ लाख रुपियाँ बराबरको क्षति भएको जानकारी दिएको छ ।

घटनाको छानबिनका लागि समिति गठन

जिल्ला प्रहरी कार्यालय हिरासतमा भएको मोहमद हकिम शाँको आत्महत्या घटनाका सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको संयोजकत्वमा ६ सदस्यीय हिरासतभित्रको घटना बारेमा छानविन गर्न समिति गठन गएिको हो ।

समितिमा नेपाल प्रहरीका इन्स्पेक्टर सुवास भट्टराई, हरिनगर गाउँपालिका अध्यक्ष गफार अञ्सारी मियाँ, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अञ्सारी, भोक्राहा नरसिंह गाउँपालिका– ५ का वडाध्यक्ष बसिरमुद्धिन मञ्सुरी, इनरूवा नगरपालिका– १० का वडाध्यक्ष सुलताम मियाँ सदस्य रहेका छन् ।

समितिले असोज २४ गतेदेखि नै काम थालेकोे छ । समितिले घटनाको प्रारम्भिक जानकारी, लासको अवस्था मुचुल्का र पोष्टमार्टमसम्मको विवरण प्रत्यक्ष अवलोकन गरेको छ । समितिले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

पीडित पक्षद्धारा शवको सद्गत

 असोज २५ गते प्रहरी, जनप्रतिनिधि र पीडित पक्षबिच भएको छलफलपछि सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा पोष्टमार्टम गरिएको छ ।

पीडित पक्षले असोज २५ गते शव बुझि इनरूवा नगरपालिका–९ स्थित कब्रस्थानमा सद्गत गरेको छ ।

Photo 20211010 Sunsari (1)

Photo 20211010 Sunsari (2)

Photo 20211010 Sunsari (3)

Photo 20211010 Sunsari (4)

Photo 20211010 Sunsari (5)

Photo 20211010 Sunsari (6)

Photo 20211010 Sunsari (7)

Photo 20211010 Sunsari (8)


जयकृष्ण यादव