प्रहरी हस्तक्षेपका कारण आन्दोलनमा सहभागी तीन विद्यार्थी घाइते
नियमित पठन–पाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै माघ १८ गते प्रर्दशन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा चक्र जनता सहिद गङ्गा माध्यमिक विद्यालयका तीन जना विद्यार्थी घाइते भएका छन् ।
प्रहरीको लाठी चार्जबाट बरहथवा नपा–४ का १४ वर्षीय अभिशेक यादव, बरहथवाका १६ वर्षीया रविना महतो र सोही ठाउँका १५ वर्षीय रामनरेश राय यादव घाइते भएका कक्षा ११ मा अध्ययनरत राकेश राय यादवले बताउनु भयो ।
घाइतेहरूको उपचार बरहथवा क्लिनिकमा गरिएको र घाइतेमध्ये रविना महतोलाई थप उपचारका लागी बीरगंज लगिएको विद्यार्थी यादवले जानकारी दिनु भयो ।
विद्यार्थीहरूले माघ १२ गतेदेखि नै तालाबन्दी गरेको तर माग सुनुवाइ नभएपछि विद्यालयको विषयमा ध्यानाकर्षण गर्न बरहथवा नगरपालिका कार्यालयमा पुगेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरी दमन गरेको विद्यार्थीहरूको आरोप छ ।
विद्यालय प्रशासन र नगरपालिकामा समेत पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेको चक्र जना सहिद गङ्गा माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थी १७ वर्षीय रामनारायण महतोले बताउनु भयो ।
बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमबहादुर भुजेल र चक्र सहिद गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवसमेतको सल्लाहमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको कक्षा ९ मा अध्ययरत सरकेश रायले आरोप लगाउनु भयो ।
यसअघि पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिएको कक्षा ११ मा अध्यनरत विद्यार्थी ललिता शर्माको आरोप छ ।
शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरूले माघ १८ गते नगरपालिका कार्यालय र विद्यालयमा तोडफोडसमेत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापकलागयत प्रमुख प्रशासकीय अधिकृत सहित विद्यालयका बारेमा छलफल भइरहेको बेला विद्यार्थीहरुले नाराबाजी गर्दै ढुङ्गामुढा गर्दा नगरपालिकाको दराज, गेट, झ्यालको सिसा र नगरपालिकाको प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलको बा २० च ९३३७ नम्बरको कारको सिसामा क्षति भएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले जानकारी दिनु भयो ।
विद्यार्थीहरूको माग सम्बोधन गर्ने तयारी भइरहँदा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीहरूलाई परिचालन गरेको र विद्यार्थीको नाममा घुसपैठ भएको विद्यालयका प्रधानाध्यापक यादवले बताउनु भयो ।
विद्यार्थीहरूको भीड उत्तेजित भएकाले सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धव सिंह भाटले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…