प्रहरी हवल्दारद्वारा म्यादी प्रहरीलाई कुटपिट गरेको आरोप

खाडाँचक्र नपा-३ घरभई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत म्यादी प्रहरीहरू १९ वर्षीय अविराम पाण्डे, २१ वर्षीय प्रभुजन सेजुवाल, २० वर्षीय लोकेन्द्र न्यौपाने, २० वर्षीया नौरा बुढालाई दैलेख घरभई सोही प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३१ वर्षीय प्रेम चन्दले जेठ ८ गते कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् ।

पीडित पाण्डेले भने-'लाइनमा लागेको बेला छाति र कानमा हवल्दार सापले कुट्नुभयो ।' मान्म बजारको खुल्ला मञ्चमा रोलकालमा व्यस्त रहेका म्यादी प्रहरीलाई लाइन लगाई हवल्दार चन्दले कुटपिट गरेको म्यादी प्रहरी सेजुवालले बताए । उनले भने-'पुरुष म्यादी प्रहरीलाई महिला म्यादीको टाँगमुनि छिर्न लगाउने र घोडा चढे जस्तै गर्न लगाइयो ।'

अविराम पाण्डेको छाति र कानमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । हवल्दारले एकोहोरो कुटन थालेपछि म्यादी प्रहरीले प्रतिकार गरेका थिए ।

घटना सम्बन्धमा कारबाहीको मागगर्दै म्यादी प्रहरीले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले बताए ।


कालीबहादुर मल्ल