प्रहरी र स्थानीयबीच झडपहुँदा दुई जना प्रहरी सहित १४ जना घाइते

  ०७६ फागुन ३० गते

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको टाङ्गिङमा ०७६ फागुन २८ गते प्रहरी र स्थानीयबीच झडप हुँदा दुईजना प्रहरी सहित १४ जना घाइते भएका छन् ।

लिखु–१ जलविद्युत आयोजनाले नागरिकका माग पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको हाे । झडपमा घाइते भएका प्रहरीहरूको नाम खुलाइएको छैन ।

स्थानीय माथि प्रहरीले कुटपिट गर्दा उमाकुण्ड १ गुम्देलका  ग्युर्मे शेर्पा, आङभाई शेर्पा, कान्छिमा शेर्पा, दाली शेर्पा, फ्युग्याल्जे शेर्पा, पेमाकुङा शेपा, पेम्बा शेर्पालगायत १२ जना घाइते साम्देन शेर्पाले बताउनु भयो । घाइतेको स्थानीय मेडिकलहरूमा उपचार गरिएको उहाँले बताउनु भयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीय माथि बुट र बन्दुकको कुन्दाले कुटपिट गरेको स्थानीयको आरोप छ ।

रामेछापका प्रहरी प्रवक्ता इन्स्पेक्टर टेकन्द्र पौडेलका अनुसार आयोजनाको तोडफोडमा सङ्लग्नलाई प्रहरीले गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रहरी माथि नै आक्रमण गर्न खोजेपछि सामान्य झडप भएको बताउनु भयो ।

आयोजना पुग्ने प्रवेश मार्ग निर्माण गर्दा स्थानीयलाई मुआब्जा नदिएको, सामाजिक उत्तरदायित्व निर्वाह नगरेको, स्थानीयलाई रोजगारी नदिएकोलगायतको स्थानीयले गुनासो गरेका छन् । यस बारेमा पटक पटक आयोजनाको निर्माण कम्पनी दुगड समुहसँग छलफल गर्दा पनि चासो नदिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनु भयो ।


नवराज पथिक