प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते

  ०७९ जेठ ३ गते

रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच  जेठ १ गते  झडप भएको छ ।

झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर, म्यादी प्रहरी १९ वर्षीय हकेन्द्र थापा, सशस्त्र प्रहरीका इन्सपेक्टर ४० वर्षीय हरि पोखरेल, सशस्त्र प्रहरी जवान ४० वर्षीय दिलबहादुर थापा सामान्य घाइते भएका छन् ।

दिलबहादुर थापाको पाल्पा अस्पतालमा उपचार जेठ १ गते उपचार भयो भने अन्य घाइतेको घटना स्थलमै प्राथमिक उपचार गरिएको प्रहरी चौकी पिपलडाँडाका असइ कनैया चौधरीले बताउनु भयो ।

यसैगरी, रम्भा गाउँपालिका–३ पिपलडाँडाका २९ वर्षीय  सुजन अर्याल र हुँगीका २६ वर्षीय सुसन गाहा मगर घाइते भएका छन् । उनीहरूको गाहाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ भने अर्याल उपचार पश्चात जेठ १ गते घर फर्केका छन् ।

मतगणना रूजु गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्याङ्कमा एकरूपता  नभएपछि मतगणना स्थगित भएको थियो ।

रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले दलहरूबिच सहमति नभएसम्मका लागि मतगणना स्थगित गरेको बताउनु भयो ।

मत बढी देखिएको र एकरूपता हुन नसकेपछि गठबन्धनका नेताहरु मतगणना स्थलबाट निस्केको निर्वाचन अधिकृत भण्डारीले बताउनु भयो ।

रम्भा गाउँपालिका–५ ताहुँको मतगणना गर्ने क्रममा ७४ वटा फर्जी मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेससहितको गठबन्धनको अवरोधका कारण मतगणना कार्य वैशाख ३१ गते साँझबाट अवरुद्ध भएको थियो ।

मतगणना स्थलमा सिसी टिभी व्यवस्था नगरिएको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुली बत्तीको वैकल्पिक व्यवस्था नगरेको र गणना स्थलमा एकलौटी गरिएकोले पुनः मतदानको माग गरिएको नेकपा एकीकृत समाजवादीका रम्भा गाउँपालिका संयोजक इश्वरीप्रसाद श्रेष्ठले बताउनु भयो ।


यज्ञमूर्ति तिमिल्सिना