प्रहरी र प्रर्दशनकारीबिच झडप हुँदा ११ जना घाइते

इश्वरपुर नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको प्रहरी भ्यानले पुस १० गते राति ठक्कर दिँदा इश्वरपुर नगरपालिका–५ का ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्य भएको भन्दै स्थानीयले गरेको विरोध प्रर्दशनका क्रममा प्रहरी र स्थानीयबिच झडप हुँदा ११ जना घाइते भएका छन् ।

प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानले इश्वरपुर बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जाने क्रममा इश्वरपुर नगरपालिका–७ स्थित नगरपालिका कार्यालयदेखि केहि दक्षिणतर्फ विपरीत दिशाबाट आउँदै गरेको ना ४३ प ५०१८ नम्बरको मोटरसाइकलाई पुस १० गते राति ठक्कर दिएकोे थियो ।

प्रहरीले षडयन्त्रपूर्ण तरिकाले हत्या गरेको आरोप लगाउँदै स्थानीयले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मृतकका १५ वर्षीय भाञ्जा सञ्जयकुमार महतोको बाँया गोडामा चोट लागेको छ ।

चन्द्रनगर गाउँपालिका–२ बस्ने ३३ वर्षीय दिगम्बर महतोलाई गोली लागेको थियो । घाइते दुवै जनाको इश्वरपुर स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारका लागी वीरगंज लगेको मृतकका काका किशोरी महतोले बताउनु भयो ।

झडपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवमा कार्यरत डिएसपी माधवप्रसाद बुढाथोकीको पेटमा चोट लाग्नुका साथै बाँया हात भाँचिएको, इन्स्पेक्टर कृष्ण गिरीको बाँया गोडा भाँचिएको, इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी उमाशंकर यादवलाई पेट र छातीमा चोट तथा बाँया हात भाँचिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय हरिपुरमा कार्यरत इन्स्पेक्टर वेद बहादुरको बाँया गोडामा चोट लागेको, प्रहरी जवान मुकेश गिरीको बाँया हातको औँलामा चोट लागेको, श्यामनन्दन यादवको बाँया गोडामा चोट लागेको, जिल्ला प्रहरी कार्यालयमा कार्यरत रामकेवल प्रसाद पटेलको दाहिने हातमा चोट लागेको, सशस्त्र प्रहरी बल सर्लाहीमा कार्यरत डिएसपी दिपेन्द्र थापाको दाहिने गोडा भाँचिएको र प्रहरी जवान दिपेन्द्र महराको दाहिने हात तथा बाँया आँखामा चोट लागेको इन्स्पेक्टर जनकराज ढुङ्गानाले बताउनु भयो ।

सबै घाइतेहरूको उपचार जिल्ला अस्पतालमा गरिएको इन्स्पेक्टर ढुङ्गानाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले विरोध प्रदर्शन गरेपछि इश्वरपुर बजार क्षेत्रमा पुस १३ गते दिउँसो ३ बजे देखि पुस १४ गते साँझ ७ बजेसम्म निषेध आदेश लगाइएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।


बुधन शाह