प्रहरी प्रदर्शनकारीबिच झडप

विराटनगर महानगरपालिका-१५ रानीमा प्रहरी र प्रर्दशनकारीबिच झडप भएको छ ।

हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिरका लागि ०८१ वैशाख ५ गते आयोजना गरेको धार्मिक  र्‍यालीका क्रममा हिन्दू र मुस्लिम समुदायका युवाबिच झडप भएको थियो ।

सो झडपको घटनापछि जिल्ला प्रशासन कार्यालयले वैशाख ६ गते अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सभासम्मेलनमा रोक लगाएको थियो ।

प्रशासनको आदेश अवज्ञा हुने गरी प्रदर्शनका लागि वैशाख ६ गते साँझ भेला विराटनगर महानगरपालिका-१५ का स्थानीय भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो ।

प्रहरीको आदेशलाई अटेर गरेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।

प्रहरीलाई ढुङ्गामुढा गरेपछि प्रहरीले प्रदर्शनकारी विराटनगर महानगरपालिका-१५ का २० वर्षीय रितेश झा र २३ वर्षीय रञ्जीत झालाई गिरफ्तार गरेको छ । झडपमा कोही घाइते नभएको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परेका दुई जनालाई केही सोधपुछपछि रिहा गरिएको एसपी कार्कीले बताउनु भयो ।

घटनापछि विराटनगर महानगरपालिका-१५ रानी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रशासनले विना अनुमति कुनै पनि सभासम्मेलन गर्न रोक लगाएको छ ।


विनोद सुवेदी