प्रहरी चौकी स्थापनापछि असुरक्षा बढेको स्थानीयको आरोप, स्थानीयकै दबाबमा प्रहरी चौकी सारियो

  ०८१ कार्तिक १२ गते

पञ्चेश्वर गाउँपालिका–२ डिम्बरघाटस्थित महाकाली प्रहरी चौकी स्थापन भएदेखि नै प्रहरीकै कारण असुरक्षा बढेको स्थानीयहरुको आरोप छ ।

डिम्बरघाट प्रहरी चौकीका तत्कालीन इन्चार्ज तथा प्रहरी हवल्दार कृष्णराज जोशीले डिम्बरघाटकी १७ वर्षीया बालिकालाई वेपत्ता पारेको आरोपमा आक्रोशित स्थानीयले चौकी सार्न दबाब दिएपछि प्रहरी चौकी सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो ।

वेपत्ता पारिएकी बालिका फेला पर्न नसकेको र डिम्बरघाट प्रहरीबाटै असुरक्षित बनेको भन्दै स्थानीय आक्रोशित भएका थिए । डिम्बरघाटका स्थानीय र जनप्रतिनिधिले प्रहरी चौकी सार्न माग गरेपछि जिल्ला सुरक्षा समितिले निर्णय गरेर हाललाई सो चौकी कुलाउ सारिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।

महाकाली प्रहरी चौकीको भाडामा लिएको घर जीर्ण रहेको, पाँच जना भन्दा बढि बस्न नमिल्ने खालको भएको, बस्तीबाट पायक पर्ने ठाउँमा नरहेको, सञ्चार सम्पर्क समेत नहुने भुगोल रहेकाले तत्कालका लागि प्रहरी चौकी सारिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर जनक ढुङ्गानाले बताउनु भयो ।

महाकाली नदीस्थित डिम्बरघाटबाट अवैध सामान आयत हुन सक्ने भएकाले कुलाउ प्रहरी चौकीबाट नियमित गस्ती भने हुने गरेको इन्स्पेक्टर ढुङ्गानाको भनाइ छ ।

०८१ असोज २५ गते डिम्बरकी १७ वर्षीया बालिकालाई प्रहरी हबल्दार कृष्णराज जोशीले बेपत्ता परेको, हालसम्म पनि बेपत्ता पारिएकी बालिकाको अवस्था थाँहा हुन नसकेको र प्रहरी चौकीबाटै असुरक्षा बढेको भन्दै जनप्रतिनिधि सहित ६४ जना स्थानीयले हस्ताक्षर गरी प्रहरी चौकी सानु पर्ने माग–पत्र जिल्ला प्रशासन कार्यालय, बैतडीमा दिएका थिए ।

बालिकालाई बेपत्ता पारी प्रहरी हबल्दार जोशी भारत भाग्न लागेको अवस्थामा नियन्त्रणमा लिई स्थानीयहरुले कारबाहीका लागि प्रहरीलाई जिम्मा दिएपछि आरोपित जोशीलाई हिरासतमा राखेर तिन पटक जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर ढुङ्गानाले बताउनु भयो ।

अनुन्धानका लागि प्रहरी हिरासतमा राखिएका प्रहरी हबल्दार जोशीले बयानमा बालिकासँग चिनजान तथा सम्बन्ध रहेको, असोज २५ गते बिहान भेटघाट भएको  स्वीकार गरेको भए पनि बेपत्ता भएको बिषयमा भने आफू अञ्जान रहेको बताउँदै आएका र सम्भावित सबै स्थानमा बेपत्ता भएकी बालिकाको खोजी गरिएको भए पनि अवस्था थाँहा हुन नसकेको इन्स्पेक्टर ढुङ्गानाले जानकारी दिनु भयो ।


नरी बडु