प्रहरी चौकी तोडफोड गरेको आरोपमा माओवादी कार्यकर्ता गिरफ्तार

  ०७९ वैशाख २७ गते

त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ ।

गत वैशाख २२ गते नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीमा गएपछि माओवादी कार्यकर्ताले प्रहरी चौकी नै तोडफोड गरेका थिए ।

गाउँकमिटीका अध्यक्ष खड्काको निर्देशनमा प्रहरी चौकी तोडफोड भएको आरोपमा अध्यक्ष खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका विष्णु सोतीले जानकारी दिनु भएको छ । तोडफोडबाट प्रहरी चौकी रहेको घरको छाना, सोलार, झ्याल र ढोका क्षति भएको छ । चौकीमा कति क्षति भएको भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिन चाहेको छैन ।

त्रिवेणी गाउँपालिकाको चुनाव प्रचारप्रसारको समयमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच भएको झडपमा नेपाली काङ्ग्रेसबाट त्रिवेणी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार चढेको गाडी तोडफोड गर्नुका साथै ६ जना काङ्ग्रेस कार्यकर्ता घाइते भएका थिए ।


मनिषा केसी