प्रहरीले हत्या घटनाको उजुरी दर्ता नगरेको मृतक पक्षको आरोप

  ०७९ फागुन १६ गते

हत्या घटनाको उजुरी प्रहरीले दर्ता नगरेको मृतक पक्षले आरोप लगाएका छन् ।

रुन्टीगढी गाउँपालिका–२ उमाका रुपलाल बिकले फागुन १५ गते दाङको घारोहीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपितहरू विरुद्धको उजुरी दर्ता गर्न नमानेको बताउनु भयो ।

रूपलाल बिकका अनुसार ०७९ माघ २९ गते १९ वर्षीय छोरा राजेन्द्र बिकको अपहरणपछि हत्या गरिएको अवस्थामा फागुन १ गते रुन्टीगढी गाउँपालिका–१ राम्ली सामुदायिक बनमा शव भेटिएको र पुस १ गतेदेखि शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जानकारी दिनुभयो ।

आफन्तको बिवाहको भोज खान गएको छोरा मृत भेटिएको र उहाँसँगै गएका अन्य व्यक्तिका नाममा उजुरी दिदा प्रहरीले लिन नमानेको मृतकका बुवाले  बताउनु भयो ।

छोरासँगै गएका छिमेकी १६ वर्षीय सुवास बिकले आपसी तानातान गर्दा भिरबाट खसेर मृत्यु भएको भने पनि घटनाको प्रकृति हेर्दा  लडेर मृत्यु  भएको नदेखिएको, घरमा जानकारी नदिएको, मृतकका कपडा खोलेर मृतककै घरमा ल्याएर फालिदिएको, मृतकको एउटा जुत्ता आरोपितका बुवा जितबहादुर बिकले घरमा लगेर राखेकोले घटनामा धेरैको सङ्लग्नता रहेको भन्दै सत्यतथ्य छानबिन र आरोपितहरू विरुद्ध किटानी उजुरी दर्ता गर्न पाउनुपर्ने रुपलालले बताउनु भयो ।

प्रहरीले नाबालकको नाममा मात्र उजुरी दर्ता गरेको र हत्यापछि एक्लैले शवको व्यवस्थापन पनि गर्न नसक्ने भन्दै पीडित रुपलालले घटनामा धेरैजनाले योजनाबद्धरुपमा हत्या गरेको दाबी गर्नुभयो ।

प्रहरीले नाबालकको मात्रै किटानी उजुरी लिएर हिरासतमा राखेको र मुख्य आरोपितहरुलाई बचाउन खोजेको पीडितले आरोप लगाउनु भयो ।

मृतकको टाउकोमा गहिरो चोट लागेको, शरीरका विभिन्न भागमा घाउचोट देखिएको तर घटनास्थलमा लडेर खसेको कुनै चिन्ह नभएको, घाउ भए पनि रगत कतै नखसेको, शवलाई ढुङ्गा बिच्छ्याएर भिरको मुनि राखिएको पाइएको पीडितले बताउनु भयो ।

बिकले नाबालकलगायत सातजनालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्दै घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म शव नबुझ्ने बताउनु भयो । शवको पोष्टमार्टम फागुन १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरी शव राखिएको छ ।

रुपलाल बिकले न्याय र जीवन सुरक्षाको माग गर्दै फागुन १५ गते  राष्ट्रिय मानव अधिकार आयोग  नेपालगञ्ज र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जमा निवेदन दिनु भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले घटनाको उजुरी दर्ता नगरेको विषयमा इलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर मधुसुदन बिकसँग जानकारी लिनु भएको थियो । इन्सपेक्टर बिकका अनुसार घटनामा सङ्लग्न रहेको आरोपमा एक जनालाई गिरफ्तार गरिएको र थप अनुसन्धान पछि उजुरी दर्ता गरिने बताउनु भयो ।


तिलक घर्ती मगर