प्रहरीले दर्ता नगरेपछि अदालतमा तीनवटा घरेलु हिंसाको उजुरी दर्ता
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सप्तरी जिल्ला अदालतमा साउन २२ र २३ गते घरेलु हिंसाको तीनवटा उजुरी दर्ता भएको छ । बोदे बर्साइन नपा–१ धनगढीकी ५० वर्षीया अनीताकुमारी चौधरीले उनका जेठाजु ५८ वर्षीय प्रभुनारायण चौधरीविरूद्ध जिल्ला अदालतमा साउन २३ गते उजुरी दर्ता गरेकी छिन् ।
प्रहरी चौकी सिस्वामा असार ३२ गते दिएको उजुरीमा कुनै कारबाही नभएपछि सप्तरी जिल्ला अदालतमा उजुरी दर्ता गरेको पीडितले बताइन् ।
आरोपितले आक्रोशमा आई असार २१ गते बाँसको लाठीले कुटी गम्भीर घाइते बनाएको पीडितले बताइन् । कुटपिटबाट घाइते पीडितको सिरहाको लहान नपा–३ स्थित त्रिदेव पोलिक्लिनिक र गणेश चश्मा घर तथा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भएको छ ।
यसैगरी कञ्चनरूप नपा–९ धरमपुरकी २९ वर्षीया सुभद्रादेवी रामले उनकी सासू ६५ वर्षीया रामवतीदेवी राम, देवर २५ वर्षीय सन्तोष राम र निजकी पत्नी २३ वर्षीया उर्मिलादेवी रामविरूद्ध जिल्ला अदालतमा साउन २२ गते उजुरी दर्ता गरेकी छिन् ।
अंश भाग खोजे ज्यान मारिदिने धम्की दिँदै आरोपितहरूले असार १४ गते घरमा पति नभएका बेला गालीगलौज, कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले उजुरी दिएको जिल्ला अदालतले जनाएको छ ।
कुटपिटबाट घाइते भएपछि गाउँलेहरूले ज्यान जोगाएको पीडितले बताइन् । पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिई असार १७ गते प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपबाट घाउजाँच परीक्षण गराए पनि उजुरी दर्ता नगरेपछि अदालतमा उजुरी दर्ता गराएको बताइन् ।
यस्तै कञ्चनरूप नपा–९ धरमपुरकी ६३ वर्षीया पारोदेवी यादवले उनका पति ६५ वर्षीय हरीलाल यादव, छोरा ३० वर्षीय सुबन यादव र निजकी पत्नी २५ वर्षीया विनीतादेवी यादवविरूद्ध जिल्ला अदालतमा साउन २२ गते घरेलु हिंसाको उजुरी दर्ता गराएकी छिन् ।
आरोपितहरूले मिलोमतो गरी अंश खोजे कुटेर ठिक पार्छौँ भनी ०७५ जेठ २२ गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । आरोपितहरूले ०७४ कात्तिक ९ गते समेत कुटपिट गरेपछि पीडितले इलाका प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको उजुरी दिएकी थिइन् । सो घटनामा आरोपितहरूले कुटपिट नगर्ने भनी लिखित सहमति गरेपनि पुनः कुटपिट गरेको पीडितले जानकारी दिइन् । जिल्ला अदालतले तीनै जना पीडितलाई कुटपिट, गालीगलौज र यातना नदिई बस्न, खान, लाउन दिनु भनी साउन २४ गते आरोपितहरूका नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…