प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु, एक जना घाइते

  ०७९ जेठ २४ गते

मुधवन नगरपालिका – २ ओराली बजारमा  जेठ २३ गते प्रहरीले चलाएको गोली लागेर मधुवन नपा–२ सोनाहाकी २० वर्षीया नविना चौधरीको मृत्यु भएको छ भने सोही ठाउँका २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् ।

कोखामा गोली लागेर घाइते भएका चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको घटनाका प्रत्यक्षदर्शी कालुराम चौधरीले बताउनु भयो ।

मधुवन नपा– २ सोनाहा की ४० वर्षीया सुस्मिता थारुलाई जेठ २३ गते बिहान खेतमा काम गरिरहेको अवस्थामा बाघले आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर स्थानीयहरूले हुलाकी राजमार्ग अवरोध गरी आन्दोलन गरिरहेका थिए ।

आन्दोलनकर्मीहरूले सरकारले घाइतेको निशुल्क उपचार गर्नु पर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिनुको साथै नागरिकहरूको सुरक्षा हुन पर्ने माग गर्दै दिनभरी सडक अवरोध गरी आन्दोलन गरेका थिए ।

साँझ दुबै पक्षबिच भएको वार्तामा सहमती गरेर अवरोध हटाउने भनिएको भएपनि अचानक आन्दोलनकारी  र प्रहरीबिच तनाव भएको थियोे । आन्दोलनकारीहरूले ढुङ्गा मुढा प्रहार गर्न थाले पछि प्रहरीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भयो भने एक जना घाइते भएका छन् ।

शव प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी प्रत्यक्षदर्शी कालुराम चौधरीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हृदेशकुमार सापकोटाले बाटोको अवरोध हटाउने क्रममा प्रहरी र आन्दोलनकारीबिच  झडप हुँदा एक जनाको मृत्यु भएको तर के कारणले मृत्यु भएको भन्ने बारेमा पोष्टमार्टम रिर्पोट आएपछि मात्र भन्न सकिने बताउनु भयो ।


मानबहादुर चौधरी