प्रहरीले गोली प्रहार गर्दा १ जना गम्भीर घाइते

प्रहरीको गोली लागेर मध्यबिन्दु नपा–२ नन्दपुरका ३४ वर्षीय प्रेम महतो गम्भीर घाइते हुनुभएको छ । मध्यबिन्दु नपा–३ कोल्हुवामा फागुन २४ गते राति कोल्हुवा प्रहरी चौकीका सब—इन्स्पेक्टर गंगाराम कोईरीले गोली चलाउँदा महतोको कोखा र गोडामा गोली लागेको छ ।

कोल्हुवा प्रहरी चौकीका सब—इन्स्पेक्टर गंगाराम कोईरी नेतृत्वको गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दीपक रेग्मीले बताउनुभयो ।

एउटा मोटरसाइकलमा तीन जना चढेर आएको देखेपछि रााति गस्तीमा रहेको टोलीले रोकेर चेकजाँच गर्न खोजेको तर मोटरसाइकल सवारहरु भाग्न खोजेका थिए । उनीहरुले मोटरसाइकलले सइ कोईरीलाई लडाएको र साथै ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको रेग्मीको दाबी छ ।

उनीहरूको साथबाट एक थान खुकुरी र प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको बाइक बरामद भएको थियो । घाइते कोईरीको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले मध्यबिन्दु—३ निवासी ३० वर्षीय मुन्ना महतो र १९ वर्षीय सुरज महतोलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेको र गोली लागेर गम्भीर घाइते भएका प्रेम महतोको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको रेग्मीले बताउनुभयो ।


तिर्थराज डुम्रे