प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

  ०७९ फागुन ४ गते

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकी याम्खा नजिक रहेको मैदानमा खेलि रहेको अवस्थामा प्रहरी चौकी याम्खामा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार पर्शुराम वाँस्तोला र प्रहरी जवान २४ वर्षीय सागर राईले कुटपिट गरेको पीडित बालिकाकी २७ वर्षीया आमा मुना दाहालको आरोप छ ।

छोरा खेलि रहेको अवस्थामा प्रहरीले विना कारण प्रहरी चौकी नजिक रहेको शिव मन्दिरमा लगेर कुटपिट गरेको पीडित बालिकाकी आमा मुना दाहालले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

प्रहरी जवान सागर राईले मादक पदार्थ सेवन गरेको र नशाको सुरमा छोरालाई कुटपिट गरेको पीडितको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोमनराज अर्यालले पीडित भनिएका बालक र चौकीमा कार्यरत सबै जना एकाघरका परिवार जस्तो गरी बसेको र ख्यालठट्टामा बालकलाई प्रहरी जवान सागर राईले धकेलेको मात्र बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले पीडितले आरोप लगाए जस्तो नभएको र कसैले मदिरा सेवन नगरेको बताउनु भयो ।

प्रहरीले जिस्क्याएको निहुँमा बालक घर फर्किएर खुकुरी लिएर प्रहरीमाथि आइलाग्न खोजेपछि नियन्त्रणका क्रममा घम्साघम्सी भएको डिएसपी मुकारुङको भनाइ छ ।

घम्साघम्सीका क्रममा बालकको शरीरको भित्री भागमा चोट लागेकाे हुन सक्ने भएकाले भिडियो एक्सरे गर्नु परेकाे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१स्थित सामुदायिक फेमिली अस्पतालमा भिडियो एक्सरे गर्ने चिकित्सक नभएकाले बालकलाई फागुन २ गते उपचारका लागि काठमाण्डौँ लगिएको छ ।

प्रहरीविरूद्ध उजुरी नदिएको बालिकाकी आमा मुना दाहालको भनाइ छ ।


तारानाथ फुयल