प्रहरीले कुटपिट गरेको घटना छानविनका लागि समिति गठन

  ०७९ जेठ ४ गते

मादी नगरपालिका–५ मा प्रहरीको कुटपिटबाट उम्मेदवारसहित चार जना घाइते भएको घटना छानविनका लागि जेठ ३ गते समिति गठन गरिएको छ ।

मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फूर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले प्रहरीले कुटपिट गरेको विषयमा जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि छानविनका लागि समिति गठन गरिएको हो ।

घटना छानविनका लागि इलाका प्रशासन कार्यालय चैनपुरका प्रशासकीय अधिकृत दिनेश बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

जेठ ३ गते मादी प्रहरी चौकीमा पीडित पक्ष र प्रहरी प्रशासनबिच तीन बुँदे सहमति भएको छ ।

छानविन समितिले छलफलका क्रममा घाइतेहरूको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।

प्रहरी चौकी मादीमा कार्यरत असई कमलबहादुर मिश्र र सुवास घिमिरेलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा तानिने निर्णय गरिएको छ ।

घटनाको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा मादी पुगेपछि जेठ ३ गते पीडित पक्ष र प्रहरी प्रशासनबिच छलफल भएको हो ।

जेठ २ गते प्रहरीको कुटपिटबाट मादी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका मेयर पदका उम्मेदवार दावाछत्र शेर्पासहित श्याम, फूर्वा र पासाङलाई घाइते हुनु भएको छ ।

प्रहरीको कुटपिटबाट श्याम शेर्पाको टाउकोमा चोट र हात भाँचिएकाले उपचारका लागि जेठ ३ गते काठमाण्डौँमा उपचार भइरहेकाे छ ।


भविन कार्की