प्रहरीले किटानी जाहेरी दर्ता नगरेको गुनासो

  ०७३ साउन २९ गते

वीरेन्द्रनगर नपा-२४ की १७ वर्षीया इन्द्राकुमारी खड्कालाई अवलचिङ् गाविस-८ का २१ वर्षीय प्रेमबहादुर रानाले विवाह गरेको बाहानामा तीन वर्षअघि भारतमा पुर्‍याई बेपत्ता बनाएको भन्दै पटकपटक रानाविरूद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको इन्द्राकुमारीका बुबा टेकबहादुर खड्काले गुनासो गरेका छन् ।

विवाहको बाहानामा भारत लगेको केही दिनसम्म छोरीसँग सम्पर्क भएपनि अहिले कहाँ छन् ? भन्ने कुनै अत्तोपत्तो नभएकाले खोजतलास गर्न प्रहरीलाई पछिल्लोपटक साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको खड्काले गुनासो गरेका हुन् ।

घरबाट भगाएर भारतको गुजरात पुर्‍याइएकी छोरीले गुजरातबाट एकपटक फोन गरेपछि हालसम्म कुनै सम्पर्क हुन नसकेको खड्काले जानकारी दिए ।

लामो समयसम्म छोरीको खबर नआएपछि खड्काले ०७१ जेठ १ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छोरीको खोजी गरीपाउँ भनी निवेदन दिएपछि रानाका आफन्तले उनीहरू गुजरातमा विवाह गरी बसेका र यसबारेमा चिन्ता नलिन भनेपछि आफूहरू चुप लागेको खड्काले बताए ।

सो निवेदनपछि प्रेमबहादुर रानाले नै प्रहरी कार्यालयमा आई आफूले भारतमा लगेको स्वीकार गर्दै उनलाई घरमा ल्याउने कागज गरेपनि राना सोही दिनदेखि सम्पर्कविहीन छन् । त्यसयता रानाविरूद्ध मानवबेचविखनमा पटकपटक किटानी जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी बहादुरजङ्ग मल्लले पीडित पक्षले दिएको किटानी जाहेरी कानुनसम्मत नभएकाले दर्ता गर्न नसकिएको बताए । महिला आफै आएपछि मात्र मानव बेचबिखनको उजुरी लिन मिल्ने भन्दै उनले सबै प्रक्रिया पुरा गरेर जाहेरी दर्ताका लागि आउन आफूले पटकपटक आग्रह गरेपनि प्रक्रिया पुर्‍याउन नसकेको कारण जाहेरी दर्ता नगरिएको मल्लको भनाइ छ ।

मानव बेचविखनको मुद्दा चलाउन स्वयम् पीडितले अदालतसक्षम प्रमाणित गराएर मात्र दर्ता हुने प्रावधान रहेको डीएसपी मल्लको भनाइ छ ।


दुर्गा थापा