प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

  ०७६ असोज ८ गते

घाँटीमा निलडाम देखिएपछि हत्या गरेको आशङ्कामा आरोपितविरूद्ध प्रहरीमा किटानी उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ ।

सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय पृथ्वीबहादुर बाँनियाको भदौ ४ गते शङ्कास्पद मृत्यु भएपछि स्थानीय कुमार वाग्लेका विरूद्ध दिएको किटानी उजुरी प्रहरीले दर्ता नगरेको मृतककी पत्नी पम्फा बाँनियाले असोज ७ गते इन्सेक प्रतिनिधिलाई बताइन् । उनले न्यायका लागि पहल गरीदिन आग्रहसमेत गरेकी छिन् ।

कुमार र पृथ्वीले भदौ ४ गते मदिरा सेवन गरेर कुमारकै घरमा बसेको र आफू आफ्ना पतिलाई बोलाउन जाँदा पतिको शव घरनजिक झाडीमा भेटिएको र घाँटीमा निलडाम देखिएकाले हत्या गरेको आशङ्का लागी प्रहरीमा उजुरी दिएको पीडितले बताइन् ।

भदौ १६ गते हत्या गरेको आरोपमा आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।

यसैबीच न्यायका लागि इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजीव श्रेष्ठसँग घटनाका बारेमा जिज्ञासा राख्दा अत्यधिक मदिरा सेवनका कारणले ज्यान गएको वा हत्या नै भएको एकिन हुन बाँकी नै रहेको बताए ।

इन्स्पेक्टर श्रेष्ठले पोष्टमार्टम रिपोर्टले मृत्यु देखाएको र फोरेन्सिक रिपोर्ट काठमाडौँबाट आइनपुगेकाले हत्या वा मृत्यु एकिन नभएकाले उजुरी दर्ता नगरिएको बताए ।

इन्स्पेक्टर श्रेष्ठले फोरेन्सिक रिपोर्टमा हत्या देखिए उजुरी दर्ता गरी कारबाही अघि बढाउने बताएका छन् । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा भदौ ५ गते गरिएको छ ।


शिवप्रसाद ढुङ्गाना