प्रहरीमा बलात्कार र बलात्कार प्रयास घटनाको उजुरी दर्ता हुने संख्या बढ्दै

  ०७९ फागुन ३ गते

रामेछाप जिल्लामा महिलामाथि बलात्कार र बलात्कार प्रयास घटना दर्ता हुने क्रम वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय रामेछापको डीएसपी होमबहादुर पराजुलीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङ्कले बलात्कार र बलात्कार प्रयासका घटना बढ्दै गएको र जिल्लामा अढाई वर्षको अवधिमा ५८ ओटा उजुरी दर्ता भएको डीएसपी पराजुलीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङ्क अनुसार यस अवधिमा बलात्कारका ४१ ओटा उजुरी दर्ता भएका छन् भने बलात्कार प्रयासका १७ ओटा उजुरी परेका छन् ।

आर्थिक वर्ष ०७७।०७८ मा प्रहरीमा बलात्कारका १६ ओटा उजुरी दर्ता भएका थिए भने बलात्कार प्रयासका सात ओटा उजुरी दर्ता भएको प्रहरी प्रवक्ता इन्सपेक्टर राजु ढकालले बताउनुभयो ।

आर्थिक वर्ष ०७८।०७९ मा बलात्कारका १७ ओटा उजुरी प्रहरीमा दर्ता भएको र बलात्कार प्रयासका सात ओटा उजुरी परेको तथ्याङ्क प्रहरीमा रहेको इन्सपेक्टर ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी होमबहादुर पराजुलीले दर्ता भएको अधिकाङ्श घटनाका आरोपीलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको जानकारी दिनुभयो ।

बलात्कारका घटना बढेको र त्यसमा बालिकाहरू बढी प्रभावित भएको बताउँदै डीएसपी पराजुलीले यसको न्यूनीकरणको लागि सचेतनाको कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

प्रहरीमा यस्ता उजुरी दर्ता हुने क्रम बढ्नुको पछाडि घटना सार्वजनिक गर्न पीडित तयार भएको रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँले बताउनु भयो । ‘पहिला पनि घटना हुन्थे तर पीडितले सार्वजनिक गर्न चाहँदैन थे, घटना त्यतिकै लुकेर बस्थे, अहिले पीडित सहज रुपमा बाहिर आउन लागेका कारण प्रहरीमा उजुरी दर्ता हुने क्रम बढेको छ’, उहाँले भन्नुभयो ।

यस बाहेक कतिपय अवस्थामा सहमतिमा हुने शारीरिक सम्बन्ध पनि कुरा नमिलेपछि बलात्कारमा परिणत हुने गरेका भन्दै प्रसाईँले यस प्रति भने सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

कतिपय अन्तरजातीय बिवाहमा परिवारको कुरा नमिलेपछि बलात्कार गरेको भनेर फसाउने पाइएको र यो पक्ष बढी खतरनाक भएको प्रसाईँले भन्नुभयो ।


नवराज पथिक