प्रहरीद्वारा बालविवाह रद्ध, एक वर्षमा ३४ बालविवाह रोकिए

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हुनै लागेको बालविवाह प्रहरीले रोकेको छ । उमेर नपुगी भएको विवाह भएको थाहा पाएपछि चौरजहारी नपा–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८ की १६ वर्षीया बालिकाबीचको विवाह रोकिएको प्रहरीले जनाएको हो ।

उक्त जोडीको विवाह उमेर नपुग्दै हुन थालेको भन्दै प्रहरीलाई सूचना आएपछि सिम्ली प्रहरी चौकीमा ल्याएर विवाह रद्ध गरिएको सिम्ली प्रहरी चौकीका असई गगनसिंह ठकुरीले जानकारी दिए । उनीहरूलाई बाल सञ्जालका पदाधिकारी र जनप्रतिनिधिको रोहवरमा उमेर पुगेपछि विवाह गर्न सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको असई ठकुरीले बताए ।

यसअघि ०७५ असार ८ गते जिल्लाका विभिन्न स्थानमा तीन वटा बालविवाह रद्ध गरिएको बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण संयोजक कुबेर केसीले जानकारी दिए । यो सँगै यसवर्ष ३४ वटा बालविवाह रोकिएको उनको भनाई छ ।


मनिषा केसी