प्रहरीको हत्या गरेको कसुरमा नौ जनालाई जन्म कैदको फैसला

  ०७८ कात्तिक १० गते

कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–९ घर भई धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित प्रहरी चौकीमा कार्यरत असई गोविन्द बिक र अछाम बान्नीगडी जयगढ गाउँपालिका–५ घर भई जुगेडा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको कसुरमा जिल्ला अदालत, कैलालीले कात्तिक ९ गते नौ जनालाई जन्म कैदको फैसला गरेको छ ।

जिल्ला अदालत, कैलालीका न्यायधीश जयानन्द पनेरुको कात्तिक ९ गते बसेको इजलाशले धनगढी उपमहानगरपालिका—१० का २७ वर्षीय कल्लुुवा भन्ने रामनिवास राना, २९ वर्षीय गब्बर भन्ने राजकुमार राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, २३ वर्षीय रोहित राना, २९ वर्षीय दलराम राना, २० वर्षीया रोहित राना धनगढी उपमहानगरपालिका—११ का गोपाल भन्ने २९ वर्षीय रामगोपाल राना र सोही ठाउँका ३४ वर्षीय अमर रानालाई जन्म कैदको सजाय सुनाएको श्रेष्तेदार राइभान कुञ्जेडाले बताउनु भयो ।

०७७ कात्तिक १ गते नेपालबाट भारतका लागि मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा तस्करी रोक्नका लागि ड्युटीमा खटिएका प्रहरीमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले कसुरदारहरुलाई धनगढी उपमहानगरपालिका—१२ जुगेडाबाट कात्तिक ४ गते गिरफ्तार गरेको थियो ।

धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई गोविन्द बिकको हत्या गरी मोहना नदीमा फालिएको अवस्थामा कात्तिक २ गते शव फेला  परेको थियो भने प्रहरी जवान रामबहादुर साउदको हत्या गरी मोहना नदीमा गाडिएको अवस्थामा कातिक ४ गते शव फेला परेको थियो ।

असई विकको शवको पोष्टमार्टम कात्तिक ३ गते र प्रहरी जवान साउदको शवको पोष्टमार्टम कात्तिक ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरीे दाहसस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको थियो ।


मैनामोती चौधरी