प्रहरीको लाठी प्रहारबाट पत्रकार घाइते

सिरहा जिल्ला, वरियारपट्टी गाउँपालिका-२ स्थायी घर भइ विराटनगर महानगरपालिका-६ मा बस्दै आएका  २३ वर्षीय पत्रकार कपलेश्वर यादव प्रहरीको लाठी प्रहारबाट घाइते हुनु भएको छ ।

कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा एक जना बिरामीको अस्पतालको लापरवाहीले मृत्यु भएको समाचार सङ्कलनका क्रममा प्रहरीले ०८१ जेठ ११ गते लाठी प्रहार गरी घाइते बनाएको पीडित पत्रकारले बताउनु भयो ।

मृतकका आफन्तले जिल्ला प्रशासन कार्यालय मोरङमा प्रदर्शन गरेको समाचार सङ्कलनका क्रममा प्रहरीले जेठ ११ गते लाठी प्रहार गरी घाइते बनाएको पीडित पत्रकारको आरोप छ । प्रहरीको लाठी प्रहारबाट घाइते पत्रकारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनामा समाचार सङ्कलनका लागि कोशी अस्पताल पुगेका लाइभ न्यूज रफ्तारका सम्पादक विराटनगर महानगरपालिका-६ का ३५ वर्षीय सोनुकुमार दासलाई अस्पताल विकास समितिका अध्यक्ष डाक्टर फरवाड सिलवालले दुर्व्यवहार गरेका छन् ।

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको विषयमा जेठ ११ गते कोशी अस्पताल पुग्दा अस्पताल विकास समितिका अध्यक्ष डाक्टर फरवाड सिलवालले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ । पत्रकारलाई दुर्व्यवहार गरेको विषयलाई डाक्टर फरवाड सिलवालले अस्वीकार गर्नु भएको छ ।

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि कुटपिट र दुर्व्यवहार भएको विषयमा नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाले विज्ञप्ति जारी गरी घटनाको विरोध गरेको छ ।

महासङ्घका मोरङ, शाखा सचिव नेत्र पि अधिकारीले जेठ १२ गते विज्ञप्ति जारी गर्दै दुर्व्यवहार र कुटपिटको घटनाको भत्सना गर्दै स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार पार्न स्थानीय प्रशासनलाई आग्रह गर्नु भएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सक र पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।


विनोद सुवेदी