प्रहरीको यातनाबाट मृत्यु भएका बालकको परिवारलाई ५ लाख रूपियाँ क्षतिपूर्ति

  ०७८ भदौ २९ गते

प्रहरीको यातनाबाट मृत्यु भएका गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटका १३ वर्षीय पदम बुढाको परिवारलाई सरकारले ५ लाख रूपियाँ क्षतिपूर्ति प्रदान गरेको छ ।

मृतक बुढालाई मोबाइल चोरीको आरोपमा ०७७ माघ १८ गते घरबाटै गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएकोमा प्रहरी जवान ३७ वर्षीय कृष्ण अधिकारीले दिएको यातनाको कारण फागुन ५ गते उनको मृत्यु भएको बालकका भिनाजु दानबहादुर बुढाले आरोप लगाए ।

प्रहरीकै यातनाका कारण मृत्यु भएको भन्दै बालकका आफन्तले क्षतिपूर्ति र कानुनी कारवाहीको माग गरे अनुसार गृहमन्त्रालयले राहत स्वरूप रकम पठाएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो ।

प्रसाईका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाले भदौ २७ गते उक्त रकम बराबरको चेक मृतकका परिवारलाई हस्तान्तरण गरेको छ ।

बालकलाई मोवाइल चोरीको आरोपमा प्रहरीले ०७७ माघ १८ गते गिरफ्तार गरी सोही दिन छाडिएको र घर गएको केही दिन पछि समस्या हुँदा उपचारकै क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाको भनाइ छ ।

प्रहरीले यातना दिएको भन्दै पीडित पक्षले फागुन ६ गते आन्दोलन गरेपछि प्रशासन र पीडित पक्षबिच छानविन समिति गठन गर्ने, पीडितलाई राहत उपलब्ध गराउन पहल गर्ने र दोषीलाई कारबाही गर्ने सहमति हुँदा फागुन ८ गते आफन्तले शव बुझेका थिए ।

घटनाका सम्बन्धमा फागुन ८ गतेको मन्त्रीस्तरीय बैठकले थप अनुसन्धानका लागि गृहमन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छनबिन समिति गठन गरी अनुसन्धान गरेपनि रिपोर्ट सार्वजनिक नगरेको पीडित पक्षको भनाइ छ ।

Photo 20210914 Jumla


मानदत्त रावल