प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !

  ०८१ फागुन ५ गते

पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण भवनमा त कहिले खुलामैदानमै कामकाज गर्नु परिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीले बताउनु भयो ।

उहाँले भन्नुभयो - 'पुरानो भवन साँघुरो र जीर्ण भएकोले बसाइ व्यवस्थापन समेत असजिलो छ । प्रहरी कार्यालयको हिरासत निकै साँघुरो र जीर्ण छ । भवन नहुँदा जवानहरू भाडाका घरमा बस्न बाध्य छन् । भवन छिटो बनिदिएको भए हुन्थ्यो । अहिले प्रहरी कार्यालयको बीचमा सरिया मात्रै ठडिएका छन् । पुरानो जीर्ण भवनका कोठामा चर्किएका छन् । नयाँ भवनका लागि ल्याइएका जस्तापाता खिया लागेर काम नलाग्ने चुइने भएका छन् ।' डिएसपी कामतीले अहिले सर्वोच्चको आदेश कुरेर बसिरहेको बताउनु भयो ।

प्रहरीका अनुसार २०७५ माघ १६ गते १ करोड खर्च गर्न मिल्ने गरेर अख्तियारी प्राप्त भएको देखिन्छ । काम अनुसारको भुक्तानी नभएको भन्दै ०७७ असार २६ गते जिल्ला प्रहरी समेतलाई विपक्षी बनाइ उच्च अदालत सुर्खेत जुम्ला इजलासमा जिल्ला प्रहरी जुम्लाको नाममा सूचना म्याद तामेल भएको थियो । निर्माण व्यवसायीले दिएको रिट निवेदन अदालतले ०७८ वैशाख २१ गते खारेज हुने ठहर गर्‍यो । फेरी निर्माण व्यवसायीले ०७९ मङ्सिर २० सर्वोच्च पुगेका थिए । जिल्ला प्रहरीले ०७९ पुस १ गते केन्द्रीय कार्यालयको निर्देशन अनुसार महान्यायधीवक्ताको कार्यालयमा लिखित जवाफ पठाइसकेको जनाएको छ । मुद्दाको अन्य प्रक्रियामा केन्द्रले हेर्ने भएकाले जिल्लालाई सबै जानकारी नभएको डिएसपी कामतीले बताउनु भयो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ५ करोड ४५ लाख ९१ हजार रुपियाँ लागतमा बन्न लागेको भवनको ठेक्का धनगढीस्थित एमके देवसिंह जेभी कम्पनीले पाएको थियो । कम्पनीका जुम्ला प्रतिनिधि कृष्णबहादुर स्वाँरले भएको कामको भुक्तानी नपाएकोले निर्माण रोकिएको बताउनु भयो । काम गरेको रकम माग्न जाँदा छैन भनेकाले उच्च अदालत हुँदै सर्वोच्चसम्म रिट परेको उहाँको भनाइ छ । अहिले यो मुद्दाको सर्वोच्च अदालतमा आगामी जेठमा पेशी तोकिएको छ । ‘अदालतमा पेशी तोक्न ढिलाइ भएकोले भवन निर्माणको विषय टुंगोमा पुगेको छैन । काम गरेको रकम नपाउन्जेल अघि बढ्न कठिन छ’ - कम्पनीका प्रतिनिधि स्वाँरले भन्नुभयो ।

तत्कालीन सशस्त्र द्वन्द्वकाल ०५९ कात्तिक २८ गते माओवादीको आक्रमणमा जिल्ला प्रहरी कार्यालयको भवन ध्वस्त थियो । ०७६ जेठ २९ गतेदेखि निर्माणको काम सुरु भएर ०७७ जेठ २८ गते सम्पन्न गर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि अहिलेसम्म डिपिसीबाहेक माथि बढ्न सकेको छैन । निर्माण हुने भवनमा कार्यालय, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानीको ट्याङ्की, खेलमैदानलगायत पूर्वाधार निर्माण हुने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।


मानदत्त रावल