प्रहरीको गोली लागी चार जनाको मृत्यु, तीन जनाको सनाखत हुनै बाँकी

  ०७८ असोज २४ गते

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूह र प्रहरीबिचको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाका सूचना अधिकृत सुशील गुरुङका अनुसार मृत्यु हुनेमध्ये तीन जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मुत्यु भएको हो ।

मृत्यु हुनेहरु तीन जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षिय रमेश परियार रहेको गुरुङले जानकारी दिनु भयो ।

मृतक परियारको छातीमा गोली लागेकाले अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेकाहरु र सुरक्षाकर्मीबिच झडप हुँदा करिब तीन दर्जन हवाई फायर भएको स्थानीय कृष्ण थापाले फोनमार्फत बताउनुभयो । भीडलाई तितर–बितर पार्न प्रहरीले गोली चलाउँदा ५० भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये ४१ जनाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गराइरहेकोमा १७ जना प्रहरी र २४ जना प्रदर्शनकारी रहेको जनाइएको छ ।

तीन जनालाई भने भैरहवा मेडिकल कलेजमा रेफर गरिएको र अन्यको उपचार अस्पतालको इमरर्जेन्सीमा भइभैरहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले फोनमार्फत बताउनुभयो ।

घाइतेहरुमध्ये १३ जनालाई युसिएमएस मेडिक कलेज, भैरहवामा उपचारार्थ भर्ना गरिएको छ । जसमध्ये पाँच जना प्रहरी र आठ जना प्रदर्शनकारी रहेको अस्पतालका सूचना अधिकृत सुनिल गुरुङले बताउनुभयो ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबिच भएको थियो । झडपका कारण मोतिपुर क्षेत्र दिनभर तनावग्रस्त रह्यो ।

सुरक्षाकर्मीले असोज २४ गते बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो रुपमा परिचालन गरिएको थियो भने जग्गा 'कब्जा' गर्न आएका स्थानीयहरुको पनि बाक्लो उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको बताउनु भयो । तर, स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले असोज २४ गते दिउँसो ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमीन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमीन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी तिवारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गर्दै ढुङ्गामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।


रीमा बिसी