प्रहरीको गोली लागी एक जनाको मृत्यु

  ०८० मङ्सिर २८ गते

दुई पक्ष बीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ नमसँग्राका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार मिश्राले नगरपालिकामा हाजिर हुन जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद उत्पन्न भई दुवै पक्षको झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षामा खटिएका प्रहरीले हवाई फायर गर्ने क्रममा मुखिया घाइते भएका थिए । गोली लागेर घाइते भएका मुखियाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । प्रहरीले झडपमा नियन्त्रणमा लिन अश्रु ग्याँससमेत प्रहार गरेका थिए ।

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढेको बा २ झ ४३५४ नम्बरको सुमोमा स्थानीयहरूद्वारा क्षति पुर्‍याउँदा भएको झडपलाई नियन्त्रणमा लिने क्रममा १० जना प्रहरी समेत घाइते भएका छन् ।

नगरपालिकामा नगर प्रमुख र सोही पालिकाका जनप्रतिनिधिहरू बीच विगत पाँच महिना भन्दा अगाडि देखि विवाद चल्दै आएको छ । तलवको माग गर्दै शिक्षक र स्वास्थ्यकर्मीहरूसमेत आन्दोलनरत छन् । केही दिन देखि विद्यालय र पाँच महिना देखि स्वास्थ्य संस्था समेत बन्दको अवस्थामा छ । स्थानीयहरू उपचारको लागि छिमेकी राष्ट्र भारतको बिहार घोडासहनमा उपचार गराउन बाध्य छन् । नगरपालिकामा अहिलेसम्म ताल्चा लागेको छ ।


धिरेन्द्र प्रसाद बरै