प्रहरीको गोली प्रहारबाट हत्या भएका म्यादी प्रहरीका परिवारले क्षतिपूर्ति पाएनन्

तीन महिनाअघि प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नपा-१ का म्यादी प्रहरी विवेक ऐडीका घरपरिवारले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

मृतक ऐडीका परिवारले फागुन १४ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर हालसम्म राहत नपाएको गुनासो गरेका हुन् ।

निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीहरूले सेवा सुविधाको माग गर्दै ०७४ मङ्सिर १० गते गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । हालसम्म पनि सरकारबाट राहत नपाएको र घटनामा संलग्नलाई कारवाही नभएको भन्दै ऐडीका परिवारले मुख्यमन्त्री शाहीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

मतृकका बावु हरि ऐडीले मुख्यमन्त्री शाहीलाई भेटेर प्रदेश सरकारले पनि सो घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कालीकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् ।

उनले घटनाको दोषीलाई कारवाही हुने पनि बताएका छन् । घटनालगत्तै गृह मन्त्रालयले सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तर, मृतकका बुवा हरि ऐडीले छानबिन प्रतिवेदनको निष्कर्ष बारे आफूहरूलाई हालसम्म पनि जानकारी नगराइएको गुनासो गरे ।

मृतकका आफन्तको गुनासोपछि मुख्यमन्त्री शाहीले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन कालीकोट प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।


कालीबहादुर मल्ल