प्रसूति सेवा सञ्चालन नहुँदा सेवाग्राही प्रभावित

  ०७६ चैत ३ गते

मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीमा भवन अभावको कारण प्रसूति सेवा सञ्चालनमा आउन सकेको छैन । सेवा सञ्चालन नहुँदा सुरक्षित मातृत्व सेवा प्रभावित भएको छ ।
स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनको लागि आवश्यक उपकरणहरू एक वर्ष अघिनै व्यवस्था गरिएको भएपनि भवन कै अभावमाले सेवा सञ्चालन गर्न नसकिएको स्वस्थ्य चौकीका अहेव सौगात माझीले बताउनु भयो ।
उहाँका अनुसार स्वास्थ्य संस्थाको ढुङ्गा माटोले बनेको एउटा भवन ०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको छ । भूकम्पपछि बनाइएको २ कोठे टहरोबाट अन्य सेवा सञ्चालन भएको भए पनि स्थान अभावको कारण प्रसूति सेवा सञ्चालन हुन सकेको छैन । 20200316Ramechhapगाउँमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा नहुँदा सदरमुकाम मन्थली पुर्‍याउनु पर्ने बाध्यता रहेको स्थानीय जानुका श्रेष्ठले बताउनु भयो । स्वास्थ्य संस्थाको सेवा क्षेत्र भित्र यस वर्ष मात्र २५ जनाभन्दा बढी महिलाहरू गर्भवती रहेको स्वास्थ्य संस्थाको अभिलेखमा उल्लेख छ । स्वास्थ्य संस्थामा उपकरण र सेवा प्रदान गर्ने जनशक्ति हुँदा पनि भवन अभावकै कारण सेवा सञ्चालनमा आउन सकेको छैन ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण तयारी भएको बताउनु भयो । भवन निर्माणको लागि उपयुक्त जग्गा नपाउँदा काम अघि बढ्न नसकेको उहाँले बताउनु भयो । स्वास्थ्य संस्थामा एक जना हेल्थ असिस्टेन्ट, दुईजना अहेव र दुई जना अनमी कार्यरत छन् ।


नवराज पथिक