प्रसूतिको सेवाका लागि वडाको वर्षेनी बजेट, भवन अभावमा सधै फ्रिज

फेदाप गाउँपालिका–५ ले प्रसूति सेवाका लागि इसिबु स्वास्थ्य चौकीलाई वर्षेनी बजेट विनियोजन गरेपनि भवन अभावमा स्वास्थ्य चौकीले प्रसूति सेवा सञ्चालन गर्न नसक्दा बजेट फ्रिज हुने गरेको छ ।

प्रसूति सेवाका लागि फेदाप गाउँपालिका–५ ले वर्षेनी बजेट छुट्टयाउँदै आएको छ ।

तर, भवन अभावमा प्रसूति सेवा सञ्चालन नहुँदा वर्षेनी विनियोजन हुने फ्रिज हुने गरेको फेदाप गाउँपालिका–५ का वडाध्यक्ष पुरूषोत्तम तिम्सिनाले बताउनु भयो ।

फेदाप गाउँपालिका–५ इसिबुमा निर्माणाधीन स्वास्थ्यचौकी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी भवन ठेकेदारको लापरवाहीका कारण आठ वर्षदेखि भवन निर्माण अलपत्र छ ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँचौ पटक म्याद थप गरिएको भएपनि ठेकेदारको लापरवाहीका कारण स्वास्थ्य चौकी भवन निर्माण अलपत्र छ ।

नीलगिरी निर्माण सेवासँग ०७१ जेठ २६ गते ठेक्का सम्झौता गरी निर्माण थालेको इसिबु स्वास्थ्य चौकी भवन समयमा निर्माण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रप्रसाद देवले बताउनु भयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाको १ करोड ५० लाख ९० हजार रुपियाँ लागतमा स्वास्थ्य चौकी निर्माण सुरू भएको थियो ।

निर्धारित समयमा सम्पन्न गराउन पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीका ठेकेदार युवराज डाँगीले अटेर गरेको आयोजनाका धनकुटाका प्रमुख रञ्जनकुमार दासले बताउनु भयो ।

पछिल्लो पटक गत वर्ष ०७९ असारमै सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहे पनि पुन ०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

भवन निर्माणको काम सम्पन्न नगरे पनि डाँगीले काम गरेबापको ७७ लाख ५५ हजार ८ सय ५४ रुपियाँ भुक्तानी लिइसकेका छन् ।

समयमै स्वास्थ्यचौकी निर्माण कार्य सम्पन्न नहुँदा पुरानै साँघुरो भवनबाट जेनतेन स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य चौकी प्रमुख रमेश रिजालले बताउनु भयो ।

हाल सञ्चालनमा रहेको चौकीको सानो घरको कोठामा स्टोर गरेर राखेको औषधिसमेत पानी चुहिएर र मुसाले खाएर नोक्सान पुर्‍याएको स्वास्थ्यकर्मीको भनाइ छ ।

गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य उपकरण ठाउँ अभावमा अन्यत्रै राख्दा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

बिरामीलाई बाहिरै राखेर जाँचपड्ताल गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य चौकी प्रमुख रमेश रिजालको भनाइ छ ।


सुरेश खत्री