प्रशासनद्वारा अलपत्र मजदूरको उद्दार

  ०७६ चैत २१ गते

कोरोना भाइरस (कोभिड–१९)का कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने दुई सय ५० जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले उद्दार गरेको छ ।

लकडाउनका कारण अलपत्र परेका मजदूरलाई जिल्ला प्रशासन कार्यालयले उद्दार गरी घर पठाएको छ । काठमाण्डौ, बाँके, बर्दिया, दाङ, कैलालीलगायत घर भएका मजदूरहरूलाई आवश्यक प्रक्रिया पुरा गरी चैत २० गते घर फर्काएको प्रशासनले जनाएको छ ।

भोजपुर सदरमुकाममा सञ्चालन भइरहेको तिनभङ्गाले खानेपानी आयोजनामा काम गर्ने ७९ जना, मध्यपहाडी लोकमार्गमा काम गर्ने ९५ जनासहित जिल्लाका अन्य विभिन्न आयोजनामा काम गर्ने दुई सय ५० जनालाई प्रशासनले उद्दार गरी घर पठाएको हो । चैत ११ गतेदेखि लकडाउन भएपछि मजदूरहरू निर्माण स्थलमा रहेका थिए ।

लक डाउनका कारण काम प्रभावित भएको र दैनिक जीवनयापनमा समस्या भएपछि राज्यले उद्दार गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो ।

प्रजिअ पुरीले मजदूरलाई उद्दार गरेर सतर्कताका साथ घर पठाएको बताउनुभयो । घर फर्किएका मजदूरहरूलाई भोजपुरको देउरालीमा रहेको क्वोरन्टाइनमा स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।


गणेश विष्ट