प्रशासनको लापारबाहीका कारण विद्यार्थी दुई वर्षदेखि छात्रवृत्ति पाउनबाट वञ्चित

कृष्ण माध्यमिक विद्यालय घाँजरीपिपल-७ मा अध्ययनत २ सय १३ जना विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाउन सकेका छैनन् ।

विद्यालय प्रशासनको चरम लापरबाहीका कारण दुई वर्षदेखि विद्यार्थीहरूले छात्रवृत्ति पाउन नसकेको छात्रा विमला पुरीले आरोप लगाइन् ।

छात्रवृत्ति पाउनेहरूमा १ सय २० जना छात्रा, दलित विद्यार्थी ९० जना र तीन जना द्वन्द्वपीडित रहेका छन् ।

आर्थिक वर्ष०७१/०७२ मा जिल्ला शिक्षा कार्यालय सल्यानले छात्रवृत्तिको रकम ६१ हजार विद्यालयको खातामा राखिदिएको भएपनि विद्यार्थीलाई वितरण नगरिएको पुरीको आरोप छ ।

आव ०७२/०७३ को छात्रवृत्ति पनि विद्यालय प्रशासन र स्रोत व्यक्तिले शिक्षा कार्यालयमा माग फारम पेश नगरेका कारण रकम नपाएको छात्र सिरिष विकले बताए ।

छात्रवृत्तिका लागि आएको रकमबाट विद्यालय प्रशासनले पुस्तक खरिदमा खर्च गरेको विद्यालयका प्रद्यानाध्यापक अशोक शाहले बताए । चालु आर्थिक वर्षको छात्रवृत्तिको लागि माग फारम स्रोत व्यक्तिलाई बुझाएको तर स्रोत व्यक्तिले शिक्षा कार्यालयमा नबुझाएका कारण विद्यार्थीले छात्रवृति पाउन नसकेको विद्यालय प्रशासनको आरोप छ ।

स्रोत व्यक्ति नरभूपाल शाहले भने विद्यालय प्रशासनले नै माग फारम आफूलाई नदिएको बताए । जिल्ला शिक्षा कार्यालयमा भने यस विषयमा कुनै जानकारी नआएको सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले बताए ।


मिना बुढाथोकी